‘आगामी चुनावमा माओवादी प्रमुख शक्ति बन्न सक्न’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आगामी चुनावमा आफ्नो पार्टी फेरी प्रमुख शक्ति बन्न सक्ने सम्भावना रहेको बताएका छन् ।
शनिवार काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा समसामयिक परिस्थितिबारे संक्षिप्त रिपोटिङ गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले भने,‘आगामी निर्वाचनसम्म आउँदा माओवादी देशको प्रमुख शक्ति बन्ने सम्भावना छ ।’
सो बैठकलाई सम्वोधन गर्दै प्रचण्डले भने, ‘हाम्रो अस्तव्यस्त भएको संगठन नै हो । माओवादी नेतृत्वले राजनीतिक पहल आफ्नो हातमा लिएको छ, अब यसलाई संगठनात्मक शक्तिका रुपमा रुपान्तरण गर्न जरुरी छ । माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दाहरु उल्टिने र देश नै दुर्घटनामा पर्न सक्छ । त्यसैले परिवर्तनको रक्षा गर्ने, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने पहल माओवादी लिनुपर्छ ।’
प्रचण्डले हाल संघ र प्रदेश दुबैतिर माओवादी बलियो भएको बताए । उनले भने, ‘यसबीचमा हाम्रा कमी कमजोरी पनि भए । सहिद परिवार, घाइते. र पीडितहरुलाई प्रतिक्रियावादीहरुले हाम्रो विरुद्ध प्रयोग गर्न पनि खोजे । तर, घेरा तोड्दै हामी राजनीतिको केन्द्रमा रहन सफल भएका छौं । संघमा पनि राम्रै स्थितिमा छौं, तीनवटा प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बन्यो ।’
