ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

तु खबर संवाददाता
२०७८ श्रावण २९, शुक्रबार ०९:०४

धनगढी । कैलालीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट डडेल्धुरातर्फ गइरहेको से १ ख ८५१ नम्बरको ट्रक बिहीबार साँझतिर गोदावरीमा दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परी बैतडीको सिगास गाउँपालिका–९ बचपानीका वासिन्दा ३५ वर्षीय रामसिंह महराको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका महराको उपचारका क्रममा बिहीबार राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा परेर बैतडीकै सुर्नया गाउँपालिका–५ का पंकज मडै सामान्य घाइते भएका छन् । उनी ट्रकका सहचालक हुन् ।

प्रहरीले उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।