कमल थापाको बाबु छत्रबहादुरको स्मृतिमा पुस्तक बिमोचन
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाद्वारा लिखित ‘एकपटकको सैनिक जीवनभरको सैनिक’ पुस्तक सार्वजनिक भएको छ ।
थापाका पिता स्वर्गीय महासेनानी छत्रबहादुर थापाको सैनिक करिअरमा आधारित जीवन समेटेर लेखेको पुस्तक प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार विमोचन गरेका हुन् ।
महासेनानी थापाको स्मृति दिवस तथा उनको नाममा स्थापित छत्रबहादुर थापा स्मृति ट्रस्टको वार्षिकोत्सवका अवसरमा पुस्तक तयार भएको हो ।
पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा, ट्रस्टका अध्यक्ष पूर्वरथी नेत्रबहादुर थापा, पूर्वउपप्रधानमन्त्री कमल थापाले महासेनानी थापाको आदर्श र निष्ठापूर्ण सैनिक जीवनको चर्चा गरेका थिए ।
स्वर्गीय थापा सन् १९३९ मा दोस्रो विश्वयुद्धमा सहभागी भएका थिए । उनले पूर्व–पश्चिम राजमार्ग बनाउँदा पूर्वी खण्डको कमान्डरका रूपमा काम गरेका थिए भने सेनाको ब्यारेकीकरणको आरम्भमा पनि भूमिका निर्वाह गरेको प्रधानसेनापति थापाले जानकारी दिए ।
