आईतबारदेखि मालपोत र नापी कार्यालय बन्द हुने

तु खबर संवाददाता
२०७८ श्रावण २८, बिहीबार १८:०२

मकवानपुर । मातपोत कार्यालय मकवानपुर आइतबारदेखि एक हप्ता बन्द हुने भएको छ ।

कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्येनजर गर्दै आगामी साउन ३१ गते आइतबारबाट एक हप्ता बन्द हुने भएको मालपोत कार्यालय हेटौंडाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएकोमा मालपोत कार्यालयमा भिडभाड हुने भएकोले बन्द गर्न भनिएकोमा आज एक सूचना जारी गर्दै एक हप्ता बन्द हुने जानकारी गराएको हो ।

यस्तै, आइतबारदेखि नापी कार्यालय हेटौंडा पनि एक हप्ताका लागि बन्द हुने भएको प्रमुख जिल्ला अधिकारी भरतपणि पाण्डेले जानकारी दिए ।

जिल्लामा आज मात्रै ३९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमितको कूल संख्या १४ हजार १६१ जना पुगेको छ । तीमध्ये हालसम्म १३ हजार ११ जना संक्रमणमुक्त भएका छन् भने १५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लामा हाल ९९७ जना सक्रिय संक्रमित रहेका छन् ।