बागमती प्रदेशमा कोरोनाका कारण एकैदिन ११ जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा कोरोना संक्रमणका कारण एकैदिन ११ जनाको मृत्यु भएको छ । प्रदेशमा संक्रमणका कारण बुधबार एकैदिन ११ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसमा ४ जना महिला र ७ जना पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार संक्रमणका कारण मृत्यु हुनेमा सबैभन्दा बढी चितवनका रहेका छन् । चितवनमा ३ जना पुरुष र एक महिला गरि ४ जनाको मृत्यु भएको छ ।
त्यस्तै, संक्रमणबाट काठमाडौंका ३ जना पुरुष, दोलखा, काभ्रे र ललितपुरका एक÷एक जना महिला र मकवानपुरका एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.पुरुषोत्तम सेढाईले जानकारी दिए ।
मृत्यु हुनेमा २६ वर्षदेखि ७५ वर्ष उमेर समुहका व्यक्ति रहेका छन् ।
यससँगै बागमती प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या ४ हजार १ सय ४४ जना पुगेको मन्त्रालयले जनाएको छ ।
