हेटौंडामा निषेधाज्ञा जारी : आजबाट जोर विजोर प्रणाली लागू, माक्स नलगाउनेलाई जरीवाना

तु खबर संवाददाता
२०७८ श्रावण २५, सोमबार ०७:३२

मकवानपुर । कोरोनाका संक्रमित थपिएसंगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले संक्रमण न्यूनिकरणको प्रयासस्वरुप निषेधाज्ञाको अवधि पुनः थप गरेको छ ।

लामो समयदेखि जारी निषेधाज्ञाको अवधि साउन २४ गते राति १२ बजेसम्मको लागि थियो । सक्रिय संक्रमितको संख्या बढेसंगै निषेधाज्ञा पनि एक साता थप गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रशासनले सोमबारबाट निषेधाज्ञालाई कडाइका साथ लागू गर्ने जनाएको छ । अन्य सबै क्षेत्रमा पुरानै निर्देशन र अनुमतीलाई कायम गरिएको र पसल व्यवसाय संचालन गर्ने अवधि भने घटाइएको छ ।

प्रत्येक दिन बिहान ११ बजे सम्म खोलिदै आएको खाद्यान्न तथा तरकारी पसल बिहान १० बजेसम्म मात्र खोल्न अनुमति दिइएको छ ।

अन्य व्यवसाय दिउँसो १२ बजे देखी ४ बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिइएको छ ।

सवारी साधनमा जोर विजोर प्रणाली कायम गरिएको छ ।

जिल्लाभित्र चल्ने नीजि तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू गरिएको हो ।

जोर गते जोर नंबरको सवारी मात्र र बिजोर गते बिजोर नंबरको सवारी मात्र चल्ने दिइने भइको हो ।

त्यस्तै माक्स नलगाई हिड्ने व्यक्तिलाई १ सय रुपैयाँ जरिवाना गराउने तयारी पनि रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।