बागमती प्रदेशमा ३६ वटा प्रहरी भवन निर्माण सम्पन्न
मकवानपुर । बागमती प्रदेशमा ३६ वटा प्रहरी कार्यालय भवनको निर्माणको काम सकिएको छ । अहिले बागमती प्रदेश प्रहरी कार्यालयको भवन बनाउने काम तिव्र गतीले बढीरहेको छ । ११ वटा भवना निर्माणको अन्तिम चरणमा पुगेको छ । उक्त भवनको ९० प्रतिशत काम सम्पन्न भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत् प्रहरीका भवन निर्माण भएका हुन् । प्रदेश प्रहरी कार्यालयअन्तर्गतका विभिन्न प्रहरी चौकी, इलाका चौकीका भवन निर्माण गरिएको हो ।
तीन वर्षको अवधिमा निर्माण सकन गरी ४७ वटा प्रहरी कार्यालयका भवन निर्माणको काम सुरु गरिएको मन्त्रालयले जनाएको छ । कुल ९३ करोड २२ लाख ७२ हजार रुपैयाँ लागतमा प्रहरी कार्यालय भवनहरु निर्माण गर्ने लक्ष्यअनुरुप काम भइरहेको र अन्तिम चरणमा पुगेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता नारायणप्रसाद पोखेलले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्षसम्ममा प्रहरीका भवन निर्माणमा ५६ करोड ९७ लाख १६ हजार रुपैयाँ खर्च भएको थियो । गत आर्थिक वर्षमा ३० करोड २५ लाख ५१ हजार रुपैयाँ खर्च भएको पोखरेलले बताए ।
प्रदेश सरकारको मातहतमा प्रहरी भर्ना नगरिए पनि उसका भवन निर्माण र सवारीका साधनमा भने बागमती सरकारले खर्च गर्दैछ ।
