हेटौंडा उपमहानगरका दुई वडा बत्तीमुनिको अँध्यारो !
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ र १८ का स्थानीयवासीले नियमित विद्युत उपभोग गर्नबाट आफुहरु बञ्चित भइरहेको गुनासो गरेका छन् ।
केही दिनदेखि विद्युत अवरुद्ध भएकोले उपमहानगरका यी दुई वडावासीहरुले सास्ती खेप्नु परिरहेको छ ।
हटिया, हर्नामाडी र लगायतका क्षेत्रमा केही दिनदेखि विजुली आउँदै नआउने र आइहाले पनि धेरै पटक अवरुद्ध हुने गरेको स्थानीयले गुनासो गरेका हुन् ।
विद्युत अवरुद्ध हुँदा खानेपानी आपूर्तिमा समस्या भइरहेको र विद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुको अनलाइन कक्षा प्रभावित भएको उनीहरुको दुखेसो छ ।
त्यस्तै त्यहाँका साना तथा ठूला उद्योग संचालनमा समस्या उत्पन्न हुनुको साथै पोल्ट्री व्यवसायीसमेत मर्कामा परिरहेको स्थानीय कृष्णदेव भण्डारीले बताए ।
फिडर परिवर्तन गरिदिन माग
विद्युत अवरुद्ध बनेपछि समस्या झेल्दै आएका स्थानीयहरुले नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रमा आज फिडर परिवर्तनको मागसहित ध्यानाकर्षण पत्र बुझाएका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ का अध्यक्ष भैरवबहादुर राइसहित वडा नम्वर १७ र १८ का स्थानीयहरुले प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख योगेन्द्रकुमार ठाकुरलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
प्राधिकरणले वडा नम्वर १७ र १८ लाई ग्रामिण फिडर अन्तरगत राखेको र ग्रामिण फिडरको क्षेत्र छतिवन, हात्तिसुँडे, जुरेलीलगायत पूर्वी मकवानपुरको ठूलो भू–भागमा फैलिएकाले विद्युजीको भोल्टेज नपुगेर पटक–पटक विद्युत अवरुद्ध भएको हुनसक्ने स्थानीयको अनुमान छ ।
उनीहरुले वडा नम्वर १७ र १८ लाई ग्रामिण फिडर अन्तरगत नभई चौघडा, रंगशाला वा नयाँ फिडर अन्तरगत सेवा प्रवाह गरिदिन प्राधिकरणसमक्ष अनुरोध गरेका हुन् । प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख ठाकुरले समस्याबारे आफुलाई जानकारी प्राप्त भएकोले र उक्त समस्याको दीगो समाधानका लागि प्रयास गरिने आश्वासन दिएका छन् ।

के हो समस्या ?
धरान–चतरा सडकखण्ड अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१६ का केही सडक छेउका घर भत्काउन प्रयास गरिएको भएपनि स्थानीयवासीले मुआब्जाको विषयलाई लिएर अवरोध गरिरहेका छन् ।
वडा नम्वर १६ मासडक विस्तार भइसकेको भएपनि मापदण्ड अनुसार सडकसीमाभित्रै पर्ने केही घर भत्काउन बाँकी छ ।
त्यहाँका स्थानीयले चित्तबुझ्दो मुआब्जा प्राप्त नभएकोले सडक विस्तार भइसकेपछि अब विद्युत विस्तारमा अवरोध गरिरहेका छन् । जसका कारण उपमहानगरकै वडा नम्वर १७ र १८ बत्तीमुनिको अध्याँरोमा छन् ।
स्थानीयको गुनासोपछि भोलि वडा नम्वर १७ को कार्यालयमा विहान ८ बजे सरोकारवालाबीच छलफल कार्यक्रम तय भएको स्थानीय कृष्णदेव भण्डारी बताउँछन् । भोलिको बैठकबाट केही निश्कर्ष निस्केला कि भन्ने आशामा आफुहरु रहेको उनको भनाई छ ।
