अमेरिकामा दुई नेपालीको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण २०, बुधबार ०९:००
सांकेतिक तस्वीर

अमेरिका । अमेरिकामा एक हप्तामा दुई नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय विपिन लम्साल र २२ वर्षीय सृजन कुँवर रहेका छन् ।

दुवै युवा अचानक बेहोस भएपछि उपचारका लागि अस्पताल पुर्‍याइएको थियो ।

नेपाली युवा लम्सालको गत जुलाई २७ तारिख मङ्गलबार अमेरिकाको न्युयोर्कमा मृतयु भएको थियो भने कुँवरको गत जुलाई २८ तारिख बुधवार अमेरिकाकै अर्को राज्य विसकनसिनमा मृत्यु भएको हो ।

विपिन कामबाट घर फर्किएर शौचालय प्रयोग गर्न गएको बेला र सृजन पसल (स्टोर) मा काम गरिरहेको समयमा बेहोस भएका थिए । दुवै जनालाई उपचारको लागि अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको एनआरएनए अमेरिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त विज्ञप्ती अनुसार, नेपालमा पर्वत घर भएका लम्साल २०१६ देखि अमेरिकामा बस्दै आएका थिए । काठमाडौँ दक्षिणकाली नेपाल घर भएका विविधता चिट्ठा (डी.भी. लोटरी) विजेता सृजन कुँवर भने २०१९ देखि अमेरिका बस्दै आएका थिए ।

दुवै युवाको शवलाई नेपाल पठाउन गैर आवासीय नेपाली सङ्घ अमेरिकाले सबै पक्षसँग समन्वय गरिरहेको प्रवक्ता तोया दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विपिन लम्सालको शव नेपाल फर्काउन एनआरएनए न्यु योर्क च्याप्टरले गोफण्डबाट १८ हजार डलर सङ्कलन गरिसकेको छ ।

एनआरएनए विसकनसिन च्याप्टरले सृजन कुँवरको शव नेपाल पठाउन आवश्यक पर्ने रकम सङ्कलन गर्न मङ्गलबार गो फण्ड सञ्चालनमा ल्याएको छ ।