अवरुद्ध भैसे–भीमफेदी सडकखण्डमा यातायात संचालन

तु खबर संवाददाता
२०७८ श्रावण १८, सोमबार १५:४५

मकवानपुर । मकवानपुरको भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङसहित अन्य स्थानमा खसेको पहिरो पन्छाइ यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आज बिहानैदेखि अवरुद्ध उक्त सडकखण्डमा आज मध्याह्नदेखि यातायात संचालनमा ल्याएको प्रहरीले जनाएको छ ।

गएराति वर्षासँगै आएको पहिरोले भीमफेदीको धोर्सिङलगायत अन्य स्थानमा सडक अवरुद्ध हुँदा हेटौँडाबाट भीमफेदी कुलेखानी हुँदै काठमाडौँ जाने यातायत आज विहानैदेखि अवरुद्ध भएको थियो ।

करिब ६ घण्टासम्म रोकिएका सयौँ हलुका सवारीसाधन भैँसे–भीमफेदी सडक सञ्चालनमा आएपछि काठमाडौँतर्फ प्रस्थान गरेको मकवानपुर प्रहरीले जनाएको छ ।