हेटौँडामा मानव बेचविखन सम्बन्धी अन्तरक्रिया

तु खबर संवाददाता
२०७८ श्रावण १८, सोमबार ०८:३७

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम भएको छ । आइतबार महिला कानुन र विकास विकास मञ्चको आयोजनामा अन्तरक्रिया भएको हो ।

कार्यक्रममा वर्तमान समयमा मानव बेचविखन तथा ओसारपसारसम्बन्धी उपयुक्त ऐन, घरेलु हिंसा र पुनस्थापना विषयमा अधिवक्ता संविन श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रममा संघीय ऐनमा रही प्रदेश सरकारले निमार्ण गरेको ऐनमा केही कानूनी सुधार गरिनुपर्ने आवश्यक रहेको बताइएको थियो ।

महिला कानुन र विकास मञ्चका अधिवक्ता सविन श्रेष्ठले संघीय सरकारको मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन २०६४ को दफा १३ मा रहेको पुनस्थापना केन्द्र र दफा १४ मा रहेको पुनस्थापना कोषमा रहेको परिभाषालाई प्रदेश ऐनमा केही कानूनी सुधार गरिनुपर्ने बताए । त्यस्तै दफा २३ मा रहेको समिति गठन गर्न सक्ने बुँदा पनि सुधार गरी समितिलाई अब प्रादेशिक र स्थानीय तहमा गठन गर्ने नीति बनाइनुपर्ने बताइन् ।

त्यस्तै, घरेलु हिंसा कसुर तथा सजाय ऐन २०६६ को पनि दफा ९ को उपदफाको उपचारको रकम पीडकले व्यहोर्ने, दफा ११ मा सेवा केन्द्र, दफा १२ मा सेवा कोष र १२ को क मा संरक्षण अधिकृतको विषयमा पनि केही कानूनी सुधार गरिनुपर्ने अधिवक्ता श्रेष्ठले बताए । उनले लैङ्गिक हिंसा निवारण कोष ऐन २०६७ को दफा ३ को क मा उल्लेख प्रदेश लैगिक हिंसा निवारण कोष र ३ को ख मा रहेको स्थानीय लैगिक निवारण कोषलाई पनि केही कानुनी सुधारहरु गरिनुपर्ने बताए ।