भाषा परीक्षा पास गरेका नेपालीलाई कोरिया पठाउन निर्देशन
काठमाडौं । संसदीय समितिले कोरियाली भाषा परीक्षा पास गरेर अलपत्र परेका नेपाली नागरिकलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आईतबार सिंहदरवारमा बसेको बैठकले इपीएस पास भई बसेकाहरुलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको हो ।
सो बैठकले भाषा परीक्षा पास गरेर बसेका करिव १० हजार जना नेपालीलाई दक्षिण कोरिया पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।
दक्षिण कोरिया पठाउने काममा सरकारले आलटाल गरेको भन्दै समितिमा उजुरी परेको थियो । सोही उजुरीमाथि आइतबार छलफल गरेको समितिले श्रम, रोजगार मन्त्रालयसँग छलफल गरी आवश्यक प्रक्रिया पूरा गरी तत्काल उनीहरुलाई दक्षिण कोरिया पठाउन निर्देशन दिएको समितिका सभापति रामनारायण बिडारीले जानकारी दिए ।
बैठकमा भाषा परीक्षा पास गरिसक्दा पनि कोरिया पठाउने काममा आलटाल गरेको भन्दै समितिका सदस्यहरुले सरकारको आलोचना गरेका थिए ।
समितिका सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्य सचिव शंकरदास बैरागीले भाषा परीक्षा पास गरेकाहरुलाई छिटो दक्षिण कोरिया पठाउन आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।
