प्रधानमन्त्री रोजगार कार्यक्रम : हेटौँडामा २० प्रतिशत मात्रै खर्च
मकवानपुर । प्रधानमन्त्री रोजगार कार्यक्रम मकवानपुरसँगै देशभर चलिरहेको छ । सरकारले यसलाई ठूलो उपलब्धीका रुपमा लिए पनि आमजनता भने यसबाट प्रत्यक्ष लाभान्वित भएको देखिएको छैन ।
रोजगारी सिर्जना गरेर जनताको जीवनस्तर माथि उकास्ने यसको उद्देश्य भए पनि यो कार्यक्रमको बजेटमा उपलब्धिमूलक काम सञ्चालन गर्न नसक्दा यसको प्रभावकारिता सन्तोषजनक छैन । हेटौँडा उपमहानगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम लगभग २० प्रतिशतमात्र खर्च भएको छ। संघीय सरकारबाट हेटौँडा उपमहानगरपालिकामा रोजगार कार्यक्रम सञ्चालनका लागि १ करोड ४० लाख प्राप्त भएको थियो । जसमध्ये ४४ लाखमात्र खर्च भएको हेटौँडा उपमहानगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक बिजेन श्रेष्ठले जानकारी दिए।
सरकारले बेरोजगारी न्यून गर्ने उद्धेश्यसहित ल्याएको कार्यक्रम प्रभावकारी हुन नसकेपछि उप महानगरपालिकाका लागि संघीय सर कारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत् पठाएको ९६ लाख रुपियाँ खर्च गर्न नभएपछि फिर्ता गएको छ।
उपमहानगरपालिकाको विकट क्षेत्रका वडामा योजनाका कामहरु व्यवस्थित तवरले संचालन गर्न नसक्दा पालिकाका बेरोजगार नागरिकले १ सय दिन श्रम गरेर पाउने रकमको ठूलो शिस्सा संघीय सरकारको खातामा नै फिर्ता भएको रोजगार संयोजक श्रेष्ठले बताए । संघीय सरकारले २ सय २९ जनालाई १ सय दिनको रोजगारी प्रदान गर्न हेटौँडा उपमहानगरपालिकालाई उक्त रकम उपलब्ध गराएको थियो । तर, सो कार्यक्रममा धेरै जनालाई सहभागिता गराउन नसक्दा रु ९६ लाख खर्च हुन नसकेको हेटौँडा सन्देश दैनिकमा समाचार छ ।
