बागमती प्रदेश : नवप्रवन्धक युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम

तु खबर संवाददाता
२०७८ श्रावण १५, शुक्रबार १८:३०
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेश सरकारले ५ वटा विषयमा वैज्ञानिक खोज तथा अनुसन्धान कार्यक्रमलाई अगाडि बढाएको छ । प्रदेश सरकारले प्रदेशभित्र रहेर विभिन्न वैज्ञानिक खोज तथा अनुसन्धान गरिरहेका युवालाई प्रोत्साहन गर्दै ५ वटा विषय छनोट गरी सहायता रकमसमेत उपलब्ध गराएको प्रदेशको समाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।

मन्त्रालयका युवा तथा खेलकुद महाशाखा प्रमुख गोपाल कँडेलले वैज्ञानिक खोज तथा अनुसन्धानमा नयाँ आयाम ल्याउने उद्देश्यका साथ प्रदेश सरकारले नवप्रवन्धक युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम कार्यान्वयन गरेको जानकारी दिए ।

उनका अनुसार, प्रदेश सरकारले प्रोत्साहन कार्यक्रमका लागि आवेदन आह्वान गरेको दोस्रो चरणमा १०२ वटा प्रस्तावमध्ये ५ वटा विषय उपयुक्त ठहर गरी अनुसन्धान कार्य अघि बढाएको हो ।

मन्त्रालयले राष्ट्रिय निकुञ्जहरूमा वन तथा वन्यजन्तुको अवलोकनका लागि प्रयोग हुने पेट्रोल तथा डिजेलका सफारी गाडीहरुलाई विद्युतीय सवारीमा परिणत गर्ने कार्यको अनुसन्धान गर्न आर्थिक सहायतासहित अनुमति दिएको छ । मन्त्रालयले बसन्त आले र दिपेश बुढाथोकीको टीमलाई यसबारे अनुसन्धान गर्न १९ लाख ९८ हजार ७४५ रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको जनाएको छ ।

त्यस्तै मन्त्रालयले पहाडी भेगमा पाइने रातो च्याउको उत्पादन क्षमता वृद्धि गर्न प्रविधिको प्रयोगबारे अनुसन्धान गर्न प्रवेश पोखरेल, समीक्षा गिरी र पदमराज अवस्थीको टीमलाई छनोट गरी ३४ लाख ९४ हजार ३०१ रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।

यसैगरी, मन्त्रालयले माछा पालनमा महत्वपूर्ण मानिएको इन्जाइम उत्पादन स्थानीय माछा पोखरीमै गर्ने विषयको अनुसन्धानका लागि रु ७० लाख ५४ हजार ८०५, प्रदेशमा पाइने प्राकृतिक जडीबुटी खोजी गरी त्यसको परिचय, त्यसमा पाइने रासायनिक तत्व र औषधि उत्पादन तथा उपचारमा प्रयोगको बारेमा अनुसन्धान गरी तथ्यगत सूची तयार पारेर वेबसाइट माफर्त सार्वजनिक गर्ने उद्देश्यका साथ भुवन गुरुङको टीमलाई ६९ लाख ६७ हजार ५६९ रुपैयाँ र मानिसको दाँत परिवर्तनको तेस्रो विधिको अनुसन्धान गर्न डा. पराक्रम पराजुलीको टिमलाई १५ लाख २२ हजार १ सय १० रुपैयाँको आर्थिक सहायता दिएर काम सुरु गरेको जनाएको छ ।