मुख्यमन्त्री पौडेलद्वारा चुरियामाई सुरुङमार्ग पुर्णनिर्माण कार्यको शिलान्यास

तु खबर संवाददाता
२०७८ श्रावण १४, बिहीबार १०:४०

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगपालिका वडा नम्वर–१५ स्थित चुरियामाई सुरुङमार्गको पूनःनिर्माण कार्यको शिलान्यास गरेका छन् ।

राणाकालिन समयमा निर्माण गरिएको एसियाकै पुरानो उक्त सुरुङमार्ग पुनःनिर्माण कार्यको आज शिलान्यास गरिएको हो ।

उक्त स्थानमा नेपाली इन्जिनियर स्वर्गीय डिल्लीजङ थापा नेतृत्वसहितको प्राविधिक टोलीले १०४ वर्षअघि हेटौँडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाईमा करिब ५०० मिटर सुरुङमार्ग निर्माण गरी भीमफेदी–अमलेखगञ्जसम्म यातायत संचालन भइरहेको पनि जानकारी दिइएको थियो ।

वि.सं. २०२० साल बैशाखदेखि भीमफेदी–हेटौँडा हुँदै अम्लेखगञ्जतर्फ जाने सुरुङमार्गबाट मिनि ट्रकहरुलाई संचालनमा प्रहरीले रोक लगाइएको बताइएको छ ।

सो सुरुङमार्ग निर्माणको लागि बागमती प्रदेश सरकारको रु ४ करोड ५७ लाख २० हजार ७ सय ७ रुपैयाँ लागतमा आगामी २०७९ साल बैशाख मसान्तसम्ममा १ सय ९८ मिटर लम्बाईको सुरुङमार्ग निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले जनाएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले सुरुङमार्ग पुर्ननिर्माणको काम तोकिएको समयमा नै सम्पन्न गर्न निर्माण व्यवसायी कम्पनीलाई आग्रह गरे ।

निर्माण व्यवसायीले तोकिएको समयमा निर्माणको काम सम्पन्न नगर्दा विभिन्न समयमा प्रदेश सरकार आलोचित बन्नुपरेको भन्दै उनले पुर्ननिर्माणको काम तोकिएको समयमा सम्पन्न गर्न आग्रह गर्दै केही समस्या परे प्रदेश सरकारले सहयोग गर्ने बताए ।

मुख्यमन्त्री पौडेलले सरकारले चालु आर्थिक वर्ष ०७८/०७९ को बजेट विनियोजित गरेर प्रदेशको सबै नागरिकलाई खोप अनिवार्य लगाउने कार्यलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने र काठमाडौंलगायत ७ स्थानमा विद्युतीय बस संचालन गर्ने प्रकृया अन्तिम चरणमा पुगेको र आगामी जेष्ठ मसान्तभित्र यातायात संचालन भइसक्ने सरकारको लक्ष्य रहेको बताए ।