बागमती प्रदेशका किसानका लागि सहुलियतपूर्ण ऋण लगानी गर्दैछौँ – अर्थमन्त्री ढुंगेल
मकवानपुर । बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले चालु आर्थिक बर्ष ०७८/०७९ मा सरकारले गरिबीको रेखामुनी रहेका जनताहरुको लागि बिना धितो सहुलियतपूर्ण ऋणको व्यवस्थापन गरिएको बताएका छन् ।
बुधबार हेटौंडामा आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले सर्वसाधारण जनताको लागि ल्याइएको सहुलियत ऋण लगानी व्यवस्थापन कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताए ।
प्रदेश सरकारले २०७७ साल मंसिर ८ गते उत्पादन तथा रोजगारी सृजनाका लागि ‘सहुलियतपूर्ण ऋण लगानी कार्यविधी २०७७ मन्त्रिपरिषदबाट पारित गरिसकिएको समेत स्पष्ट पारे ।
उनले कोरोना महामारीबाट सिथिल भएको कृषि, उद्योग, व्यापार/व्यवसायसंग सम्बन्धित क्षेत्रहरुमा उत्पादन तथा रोजगारी सृजनाका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने गरी गत आर्थिक बर्ष ०७७/०७८ को बजेट वक्तव्यको १४९ नम्वर बुँदामा घोषणा गरिएको समेत उल्लेख गरे ।
उक्त कार्यक्रम प्रभावकारी बनाउन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरको उपस्थितिमा कृषि विकास बैंक लिमिटेड तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडसंग २०७७ मंसिर ८ गते सम्झौता गरिएको उनले बताए ।
आर्थिक मन्त्रालयले ०७७ पुस ८ गते प्रथम किस्ता रु ६० करोड विनियोजन गरी कृषि विकास बैंक लिमिटेडलाई ४० करोड रुपैंया तथा साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई रु २० करोड रुपैयाँ उक्त कार्यक्रमको लागि ऋण लगानी गर्न उपलब्ध गराएको उनले बताए ।
उनले बागमती प्रदेशभित्र ६५ वटा कृषि विकास बैंक लिमिटेडको शाखा कार्यालयमार्फत् उक्त कार्यक्रम विस्तार तथा साना किसान विकास लघुवित्त वित्तीय संस्थाको १८१ साना किसान कृषि सहकारीमार्फत् ऋण लगानी कार्यक्रम संचालन गरिएको उल्लेख गरे ।
मन्त्रालयले बागमती प्रदेशभित्रका १३ वटै जिल्लाका सबै स्थानीय तहहरुको वडासम्म पुग्ने गरी कार्यविधि तथा जानकारी मुलक हाते पुस्तक उपलब्ध गराउनुको साथै वित्तीय संस्थाहरुलाई यसबारे अभिमुखीकरण तथा अनुशिक्षण गरेको छ ।
सहुलियतपूर्ण ऋणका लागि कूल कृषि विकास बैंकमार्फत् कुल ८० करोड र साना किसान वित्तीय संस्थामार्फत कुल ६० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
कुन क्षेत्रमा कति ?
मन्त्रालयले सहुलियतपूर्ण ऋण लगानीका लागि क्षेत्रगत रुपमा रकम छुट्याएको छ । जसअन्तरगत कृषि व्यवसायको क्षेत्रतर्फ प्रदेशका १ हजार ६ सय किसानको लागि ४७ करोड ८९ लाख ६१ हजार, उद्योग व्यवसायको क्षेत्रतर्फ ४६ जना उद्यमीको लागि १ करोड ४१ लाख ९९ हजार, पर्यटन प्रवद्र्धन क्षेत्रतर्फ ११ जना उद्यमीको लागि ४५ लाख ५० हजार तथा व्यापार व्यवसाय क्षेत्रतर्फ ४९४ जनाको लागि १० करोड ५१ लाख १५ हजार रुपैयाँ छुट्याएको छ ।
त्यसैगरी वन तथा वातावरण क्षेत्रतर्फ १ जनाको लागि २ लाख, महिला तथा दलित सुरक्षा विकासको ऋणको क्षेत्रतर्फ २० लाख ५० हजार गरी कुल ६० करोड ५० लाख ७५ हजार रुपैयाँ छुट्याइएको मन्त्रालयकी प्रवक्ता विमला अधिकारीले जानकारी दिइन् ।
उनले कृषि विकास बैंकलाई दोस्रो किस्ता निकासा भएपछि कोभिड १९ को दोस्रो लहरको निषेधाज्ञाको कारण हाल असार २८ गतेसम्म ५८९ जनालाई ५२ करोड ९३ लाख ६३ हजार लगानी गरिएको बताइन् ।
त्यस्तै चालु आव ०७८/७९ मा २ अर्ब विनियोजन गरी सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम प्रभावकारी रुपमा संचालन गरिने गरी तयारी गरिएको बताइन् ।
मन्त्रालयका सचिव डण्डुराज घिमिरेले प्रदेश सरकार स्थापना भएको चौथो बर्षमा अहिले ल्याइएको बजेटको आकार ठुलो भएको भएपनि राजश्व संकलनमा बृद्धि गरिनुको साथै राष्ट्रिय गौरवको आयोजना र भौतिक पूर्वाधार निर्माणको लागि चालु आर्थिक बर्षसम्ममा लक्ष्य अनुसार करिब ९० प्रतिशत पुँजीगत खर्च गर्ने सफलता प्राप्त हुने बताए ।
प्रदेश सरकारले चालु आर्थिक बर्ष ०७८/७९ मा कुल ५२ अर्ब ७२ करोड बजेट पारित गरेको छ ।
