ठाकुर पक्षको पदीय हैसियत खोसियो

काठमाडौँ । निर्वाचन आयोगबाट दलको आधिकारिकता पाएको भोलिपल्टै बसेको जनता समाजवादी पार्टी ९जसपा० को केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुरसहित उनीपक्षीय १६ जनाको पदीय हैसियत खोसेको छ । जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाका अनुसार अब जसपाको केन्द्रीय कार्यकारिणी समिति ३४ सदस्यीयमा सीमित भएको छ ।
निर्वाचन आयोगमा सोमबार दलको आधिकारिकतासम्बन्धी विवादमा सनाखतका लागि पुगेका जसपाका अध्यक्ष महन्थ ठाकुर । तस्बिर स् अंगद ढकालरकान्तिपुर
केन्द्रीय कार्यकारिणी समितिमा नरहेपछि ठाकुर पक्षले अर्को पार्टी खोल्दा पनि आफ्ना जनप्रतिनिधिको पद जोगाउन प्राविधिक रूपमा कठिनाइ पर्ने भएको छ । राजनीतिक दलसम्बन्धी ऐनको प्रावधानअनुसार दल त्याग गर्नेबित्तिकै सांसद र स्थानीय तहका प्रतिनिधिको पद जान्छ । ‘केही दिन सर्वोच्च अदालतमा मुद्दा हालेर भए पनि पद जोगाउन सकिएला तर लामो समय जोगाउन कठिनाइ छ,’ ठाकुरपक्षीय एक नेताले भने, ‘केपी ओलीको टेको बन्दा हामी बिचल्लीमा पर्यौँ ।’
केन्द्रीय कार्यकारिणी समितिमा रहेका ठाकुर पक्षको छुट्टै बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतमा जाने निष्कर्ष निकालेको छ । आयोगले केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवको पक्षलाई सोमबार आधिकारिकता दिने निर्णय गरेको थियो । आयोगले गरेको ‘हेड काउन्ट’ मा ५१ सदस्यमध्ये यादवको पक्षमा ३४ र अर्का अध्यक्ष ठाकुरको पक्षमा १६ सदस्यले सनाखत गरेका थिए । फौज्दारी अभियोगमा जेल परेका रेशम चौधरी तटस्थ बसेका थिए ।
आयोगले ठाकुर पक्षलाई सोही पार्टीमा रहने वा छुट्टै दल दर्ताका लागि विकल्प दिएको थियो । ‘३४ जनाको हस्ताक्षर भएको पार्टी नै आधिकारिक भएपछि अब केन्द्रीय कार्यकारिणी समितिमा पनि त्यति नै सदस्य रहनेछन्,’ खतिवडाले भने, ‘अध्यक्ष ठाकुरसहितका नेताहरू दलको सदस्य र दलको सदस्य नभएका साथीहरू पार्टीको सामान्य सदस्य हुनुहुन्छ ।’
पार्टीको विधानमा भने दुई अध्यक्ष र ५३ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति हुने व्यवस्था छ । विधान संशोधन गर्ने वा अर्को अध्यक्षसहित रिक्त केन्द्रीय कार्यकारिणी सदस्य मनोनयन गर्ने भन्नेबारेमा आगामी बैठकमा छलफल हुने खतिवडाले बताए । ‘सदस्य थपियो भने त्यहीअनुसार, नथपिए विधान संशोधन गरेर आयोगमा अद्यावधिक गरिन्छ,’ उनले भने । बैठकले संसदीय दलको विधान पारित गरी दलको नेता चयन गर्न नवराज सुवेदी, रमेश यादव र सुशीला श्रेष्ठ रहेका निर्वाचन समिति गठन गरेको छ ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।