जसपा आधिकारिकताको निर्णयविरुद्ध महन्थ ठाकुरले दिए सर्वोच्चमा रिट

तु खबर संवाददाता
२०७८ श्रावण १५,शुक्रबार १५:४२

काठमाडौ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टीको आधिकारिता दिनु गलत भएको भन्दै जसपाका नेता महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

ठाकुरले निर्वाचन आयोगको निर्णय कार्यान्वयन भएमा पार्टी विभाजन भई केन्द्रीय नेतृत्वको प्रयोगननै समाप्त हुन जाने भन्दै रिट दायर गराएका हुन् ।

आयोगले साउन ११ गते बोलाएर हेडकाउन्ट गरेपछि उपेन्द्र यादवको पक्षमा बहुमत देखिएकाले उनैको नेतृत्वलाई आधिकारिता प्रदान गरेको थियो । त्यस्तै महन्थ ठाकुर पक्षलाई अर्को दल दर्ता गर्न सक्ने गरी निर्णय गरेको थियो ।

निर्वाचन आयोगले आधिकारिता उपेन्द्र यादव पक्षलाई दिएको भएपनि ठाकुर पक्ष हालसम्म जसपामै रहेको छ । ठाकुर पक्ष निर्वाचन आयोगको फैसला मानेर पार्टी विभाजन गर्नेतर्फ भन्दा पनि आयोगविरुद्ध नै सर्वोच्च गएको छ ।