‘प्रचण्ड र माधव नेपालले सत्ताको लोभ त्यागेर जनहितका काम गर्नुपर्छ’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका बरिष्ठ नेता माधव नेपाललाई सत्ताको लोभ नगरी जनताको पक्षमा काम गर्न सुझाव दिएका छन् ।
४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले संसद र सरकारमा रहेका कम्युनिष्ट पार्टीहरु मिलेर जानुपर्ने धारणा व्यक्त गरे ।
नेपालमा क्रान्तिकारी धारका पार्टीहरु एक हुनुपर्ने बेला आएको बताउँदै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको लोभ त्यागेर जनताको सेवामा लाग्न सुझाव दिए ।
सरकार, संसद र सडकमा भएका कम्युनिष्टहरु एक ठाउँमा उभिनु पर्ने भन्दै उनले सडकमा भएका कम्युनिष्टहरुलाई दमन गरेर जान उपयुक्त नहुने बताए ।
केपी शर्मा ओलीको कार्यशैली स्वेच्छाचारी देखिएको भन्दै नेता वैद्यले यस्तो बुद्धिले कहिले रेल आउँछ भनेर प्रश्न समेत गरेका थिए ।
