बढी भाडा लिने ८ सुमो मकवानपुर प्रहरीको नियन्त्रणमा
मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले तोकिएको भन्दा बढी भाडा लिने ८ वटा सुमोलाई नियन्त्रणमा लिएको छ ।
मंगलबार हेटौंडा हुँदै काठमाडौं जाने सुमोमा सवार यात्रुहरुलाई सोधपुछ गर्दा चर्को भाडा लिने ८ सुमोलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।
सुमोले यात्रुहरुलाई साविकको भाडा दरभन्दा ३ सयदेखि ४ सय रुपैयाँसम्म बढी लिने गरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार रमेश कार्कीले जानकारी दिए ।
उनका अनुसार, सुमो चालकहरुलाई कारबाही गरिएको छ । सरकारले केही दिनअगाडि एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने सवारी साधनको भाडादर २८ प्रतिशतसम्म वृद्धि गरेको थियो । सरकारको सोही निर्णयलाई आधार बनाएर एउटै प्रदेशभित्र चल्ने सवारी साधनका चालकहरुले पनि मनलाग्दी भाडा वृद्धि गरेर लिइरहेका छन्।
सवारी साधनको भाडादर चर्कोरुपमा बुद्धि भएको भन्दै यात्रहरुले गुनासो गरेपछि ट्राफिक प्रहरी सक्रिय भएको हो ।
