कोरोना बीमाको रकम तत्काल बीमितले नपाउने
काठमाडौं । बीमा समितिका अनुसार ५० हजार भन्दा बढि बीमितले कोरोना बीमा बापतको रकम तत्काल नपाउने भएका छन् ।
सरकारले कोरोना बीमा पोलिसीमाथि परेको बीमा दावी भुक्तानीको लागि रकम निकासा नगरेपछि ती बीमितले कोरोना बीमा बापतको रकम तत्काल नपाउने भएका हुन् ।
कोरोना बीमा मापदण्डमा उल्लेख भए अनुसार साढे तीन अर्ब रुपैयाँ दावी भुक्तानी भएर सकिएपछि अपुग रकम नेपाल सरकारले दिनुपर्नेमा सो रकम निकाशा हुन नसक्दा बीमितहरुले तत्काल रकम नपाउने भएका हुन् ।
अर्थमन्त्रालय स्रोतका अनुसार आर्थिकको अन्तिम दिन हिजो निकासा हुनुपर्ने रकम अख्तियार नआएका कारण निकासा हुन सकेन ।
बीमा समितिले तत्काल तीन अर्ब रुपैयाँ बीमा पुलमा प्रमाणिकरण भएका बीमितका लागि भुक्तानी गर्न माग गरेको थियो । सो रकम अर्थमन्त्रालयले उपलब्ध नगराएकोले कोरोना बीमितले तत्काल रकम पाउन नसक्ने बीमा समितिले जनाएको छ ।
