हेटौँडामा ९९०१ जनाले लगाए भेरोसेल खोप
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा २ दिन संचालन भएको कोरोनाभाइरस (कोभिड–१९) संक्रमण विरुद्धको भेरोसेल खोप ९ हजार ९ सय १ जनाले लगाएका छन् ।
उपमहानगरपालिकामा बुधवार र बिहिवार संचालन भएको खोप अभियान अन्तरगत ९ हजार ९ सय १ जनाले लगाएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिए ।
उनका अनुसार, उपमहानगरपालिकामा बुधवार ५ हजार ३ सय ३४ र बिहिवार ४ हजार ५ सय ६७ जनाले खोप लगाएका हुन् ।
शुक्रबार केही वडामा मात्रै खोप संचालन हुने उनले जानकारी दिए ।
उनले नगरमा १० हजार डोज भ्याक्सिन मात्र प्राप्त भएकाले सेवाग्राही बिना खोप फिर्ता हुनु परेको बताए । फिर्ता हुनेमा अधिकांश १ देखि ११ नम्बर वडाका छन् ।
उपमहानगरपालिकाले स्वास्थ्य कार्यालय मकवानपुरसँग थप ५ हजार डोज भ्याक्सिन माग गरेको जनस्वास्थ्य निरीक्षक चौलागाईंले बताए ।
