हेटौंडामा आजबाट शिक्षक र कर्मचारीलाई खोप लगाइने
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीलाई आजबाट कोरोना विरुद्धको भेरोसेल खोप लगाउने भएको छ ।
उपमहानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै उपमहानगरपालिका क्षेत्र भित्र रहेका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा अध्यापन गराउने शिक्षक तथा कर्मचारीहरुलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाउने जानकारी दिएको हो ।
उपमहानपालिकाद्वारा जारी सूचनामा उपमहानगरपालिका स्वास्थ्य शाखाको समन्वयमा खोप कार्यक्रम असार ३० गतेदेखि साउन २ गतेसम्म संचालन हुने उल्लेख गरिएको छ ।
उपमहानगरपालिका क्षेत्रभित्रका सामुदायिक र संस्थागत विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा बालविकास सहजकर्ताहरुलाई कोरोना विरुद्धको खोप लगाउनका कार्यरत विद्यालयको नजिकको स्वास्थ्य चौकीमा सम्पर्क राख्न भनिएको छ ।
त्यस्तै खोप लगाउनका लागि विद्यालयले खोप केन्द्रमा उपलब्ध गराएको खोप लगाउनेको विवरण र खोप लगाउने व्यक्तिले आफ्नो परिचय खुल्ने कागजात (नागरिकता/ मतदाता परिचय पत्र/ सवारी चालक अनुमति पत्र/विद्यालयबाट जारी गरिएको परिचय पत्र) अनिवार्य गरिएको छ ।
उपमहानगरपालिका क्षेत्रभित्र सामुदायिकतर्फ करिब १ हजार १ सय जना र संस्थागत तर्फ १ हजार ४ सय जना गरी कुल २ हजार ५ सय जना शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।
