बागमती प्रदेशमा मुख्यमन्त्री पौडेलकै सरकार यथावत रहन्छ –मुनु सिग्देल
मकवानपुर । नेकपा एमाले मकवानपुरकी नेतृ एवम् बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलले मुख्यमन्त्री डोरमणि पौडेलकै नेतृत्वमा सरकार यथावत रहने प्रतिक्रिया दिएकी छिन् ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको भएपनि बागमती प्रदेशमा नेकपा एमालेको स्पष्ट बहुमत भएकोले यहाँको नेतृत्वमा फेरबदल नआउने उनले बताइन् ।
‘नेकपा एमाले विभाजन भएको छैन, बागमती प्रदेश सरकारको हकमा हामी हामी विपक्षी गठबन्धनको पक्षमा उभिने कुरा हुँदैन । यदी हामी वर्तमान सरकारको विपक्षमा उचिने भएको भए हिजो बजेट नै पास हुदैनथ्यो । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमाथि नै प्रहार गर्नुभएकोले हामी संविधानको रक्षाका लागि विपक्षी दलहरुसंग एक ठाउँमा उभिएका मात्र थियौँ । आज सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गरिदिएको छ, यो संविधान, लोकतन्त्र, देश र जनताको पक्षमा छ । ’ उनले भनिन् ।
उनले सर्वोच्चले संसद् विघटन बदर गरेर नेपाली जनतामा स्वतन्त्र न्यायपालिकाको अनुभूति गराएको बताइन् ।
जिल्ला नेतृत्वको सन्दर्भमा उनले सर्वोच्चको अघिल्लो फैसलाले नेकपालाई खारेज गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साविकको अवस्थामा फर्काइदिएको भन्दै आफु नेकपा एमाले मकवानपुरको अध्यक्ष कायमै रहेकोसमेत बताइन् ।
