सर्वोच्चको फैसलाप्रति जम्मकट्टेलको प्रतिक्रिया– अति गरेपछि खति हुन्छ
मकवानपुर । नेकपा माओवादी केन्द्रका नेता एवम् बागमती प्रदेश प्रमुख प्रतिपक्षी दलका संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले संविधानले व्यवस्था गरेको प्रतिनिधिसभालाई कसैको सनकको भरमा विघटन गर्न नमिल्ने भएकाले सर्वोच्च अदालतले त्यसलाई बदर गरिदिएको प्रतिक्रिया दिएका छन् ।
उनले जनताको त्याग तपस्या र बलिदानीबाट प्राप्त प्रतिनिधिसभालाई विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीले अति गरेकोले अहिले खति भएको बताए ।
संसद विघटन गरेर केपी ओलीले तानाशाह र निरंकुश शासन लाद्न खोजेको भएपनि अदालतबाट संविधानको र लोकतन्त्रको रक्षा, देश जनताको हितका लागि आजको फैसला भएको उनले बताए ।
सर्वोच्चको फैसलाले आगामी दिनमा सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि गतिलो शिक्षा मिल्ने उनले विश्वास व्यक्त गरे ।
बागमती प्रदेशको हकमा उनले हालसम्म पार्टी केन्द्रबाट निर्देशन प्राप्त भइनसकेकोले अहिले नै केही भन्न नसकिने उनले बताए । यद्यपी बागमती प्रदेशको सरकारमा समेत यसको गम्भीर असर देखा पर्ने उनको भनाई छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए ।
