हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा कार्कीको मृत्यु
मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर – ३ बसामाडिमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्वर–३ का ३२ बर्षीय कृष्णहरी कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका उनको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
गएराति हेटौंडाबाट बस्तिपुरतर्फ गइरहेको बागमती प्रदेश ०३–००३ प ७२१४ नम्बरको मोटरसाइकल बसामाडिमा सडक निर्माणका लागि डिभिजन सडक कार्यालयले थुपारेको ढुंगामा ठोकिएर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।
