हेटौँडामा अन्तर्राष्ट्रिय स्तरको कृषि थोक बजार निर्माणको शिलान्यास
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा अन्तर्राष्ट्रिय स्तरको कृषि थोक बजार निर्माणको शिलान्यास गरिएको छ । उक्त थोक बजार निर्माणको शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका हुन् ।
हेटौँडा उपमहानगरपालिका वडा नम्वर–११ थानाभर्याङमा निमार्ण गर्न लागिएको उक्त थोक बजार कुल २८ करोड ३६ लाख ५५ हजार रुपैयाँ लागतमा निमार्ण गर्न लागिएको हो ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेश अन्तर्गतको कृषि विकास निर्देशनालय र हेटौँडा उपमहानगरपालिकाको संयुक्त सहकार्यमा प्रादेशिक कृषि थोक बजार निर्माण योजना अनुसार काम सुरु गरिएको हो ।
कुल २ बिगाहा ४ धुर क्षेत्रफलमा कृषि थोक बजार निर्माणका लागि निर्देशनालयले ७० प्रतिशत र उपमहानगरपालिकाले ३० प्रतिशत लागत व्यहोर्ने गरी साझेदारी गरेको जनाइएको छ ।
उक्त कृषि थोक बजार स्थापना पश्चात् सित भण्डार तथा भण्डारण, प्याकिङ, ग्रेडिङ, प्रशोधन लगायतको सुविधाहरूको अपर्याप्तता र अभाव जस्ता समस्याको अन्त्य हुने कृषि विकास निर्देशनालय हेटौँडाले जनाएको छ ।
आगामी ३ वर्षभित्र सम्पन्न गर्ने गरी कृषि विकास निर्देशनालयले आह्वान गरेको बोलपत्र अनुसार ए.एन.के.–माउन्टेन जे.भी. कमलपोखेरीसँग ठेक्का सम्झौता गरेको छ । कृषि थोक बजार निर्माण सम्पन्न भइसकेपछि निर्देशनालयले उक्त बजार हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिने जनाइएको छ ।
