किसान मारमाः दुई महिनामा साढे ६ करोड नोक्सान

पत्रपत्रिका
२०७८ असार १८, शुक्रबार ०९:५९
file photo

मकवानपुर । दुग्ध व्यवसाय गरेर जीवन निर्वाह गर्ने किसानलाई हालको निषेधाज्ञाले ठूलो मारमा पारेको छ । हाल दुग्ध व्यवसायसँग सम्बन्धित किसानहरु निषेधाज्ञाको चर्को मारमा परेका हुन् । यसले गर्दा हाल दुग्ध व्यवसायसमेत प्रभावित हुन पुगेको छ।

जिल्लामा निषेधाज्ञा लगाएपछि दुग्ध किसानको दूधको कारोबारमा निकै गिरावट आएको दुग्ध सहकारी संघ मकवानपुरको तथ्यांकले देखाएको छ । मकवानपुरमा निषेधाज्ञा लागु भएको करिब दुई महिना अवधिमा दुग्ध व्यवसायमा साढे छ करोड भन्दा बढी नोक्सान भएको छ।

निषेधाज्ञाले दूध बिक्री गर्ने दुग्ध सहकारी खुल्न नसकेको अवस्था एकातिर छ भने अर्कोतिर दुग्ध विकास संस्थानले पनि दूध सकलन नगर्दा दुग्ध किसानको रोजीरोटीको माध्यम बनिरहेको दूध त्यत्तिकै खेर गइरहेको छ ।

मकवानपुर पनि दुग्ध क्षेत्रमा आत्मनिर्भर भएको जिल्ला मानिन्छ । करिब ६० हजार लिटरको हाराहारीमा यहाँ दैनिक दूध उत्पादन हुने गरेका पछिल्लो तथ्यांक छ, जसको आधाआधी जिल्लामा नै खपत हुने र करिब ५० प्रतिशत् काठमाडौंमा खपत हुने गरेको संघका प्रबन्धक कमारमणि दाहालले जानकारी गराए । संघका ५८ वटा संस्था दर्ता छन् ।

दैनिक ४० हजार लिटर ती संस्थाबाट उत्पादन हुन्छ भने २० हजार बाहिरी सञ्जालबाट आउने गरेको उनले जानकारी गराए । बकैया, बागमती मनहरी, गढी, भीमफेदी गाउँपालिका र हेटौंडा उपमहानगरपालिका गरी ६ स्थानमा संघको सञ्जाल छ । जसमा ११ हजार सदस्य आवद्ध छन् । जिल्लामा संघका ३६ दुग्ध चिस्यान छन् ।

यस अवधिमा ११ हजार किसान मारमा पर्न गएको दाहाल दुःखेसो गर्छन् । निषेधाज्ञाको सुरुवाती चरणमा हप्तामा तीन बन्द भयो, चार दिन खुल्यो । जेठको दोस्रो हप्तादेखि एक दिन बन्द र एक दिन खुला गरियो । असार लागेपछि पनि सातदिन भने खुल्न सकेको छैन । हप्तामा तीन दिन बन्द र चार दिन खुला रहने गरेको दाहालको भनाइ छ। संघले चैतको तथ्यांक निकाल्दा मासिक ११ लाख ६ हजार लिटर बिक्री गरको जनाएको छ । तर, जेठमा ६ लाख ८२ हजार लिटर मात्र बिक्री गरिएको तथ्यांकले देखाएको छ।

किसानले उत्पादन गरेको त्यति धेरै परिमाणको दूध कटाउन नसकी लगभग खेर गएको अवस्थाका कारण कतै मकवानपुरका दुग्ध व्यवसायीहरु पेशाबाट पलायन हुने त होइनन् भन्ने प्रश्नसमेत उब्जने संघ अध्यक्ष वासुदेव अधिकारी बताउँछन् । केही वर्षयताको उत्पादन लागतमा भएको अधिक मूल्यवृद्धिको अनुपातमा दूधको मूल्य वृद्धि भने त्यहीअनुरुप हुन सकेको छैन, जसले किसानहरु लामो समयदेखि मर्कामा पर्दै आएको उनको भनाइ छ।

हाल गाईभैसीको मूल्य सामान्य किसानभन्दा पर हुँदै गएको तर १ लिटर दूध बेचेर आउने नाफा पनि मुस्किलले किसानका हातमा पर्न जाने अवस्था रहेका कारण धन बिक्रीबाट लागत पनि उठन नसकेको अधिकारीको भनाइ छ । पहिलेदेखि यस्तो जटिल अवस्था भोग्दै आएका दुग्ध किसानलाई्र पछिल्लो समय निषेधाज्ञाको चर्को मारसमेत भोग्नु परिरहेकोमा उनले दुःखेसो गरे । जसको तत्काल क्षतिपूर्ति हुन गाहो छ।

दुग्ध व्यवसायबाट पशुपालकले घरव्यवहार चलाउनुपर्ने अवस्थालाई दृष्टिगत गर्ने हो भने किसानलाई लक्षित गरेर दूधको मूल्यवृद्धिमात्र नभएर सहज आपूर्ति व्यवस्था सिर्जना गर्नु पनि अधिकारीले बताए।

दुग्ध किसानलाई दूध उत्पादन गर्ने वातावरण तयार गर्दै उनीहरुलाई सक्दो सह लियत र अनुदानका साथमा प्रोत्साहनको खाँचो रहेको अधिकारी बताउँछन्।

दुग्ध किसानले निषेधाज्ञाका कारण हालका दिनमा भोगिरहेको कहालीलाग्दो स्थितिलाई तुरुन्त सम्बोधन गर्नु यतिखेरको माग रहेको उनले बताए । यस्तो अवस्थामा भण्डार गर्ने, स्टोर गर्ने खालका चिस्यान केन्द्र राख्नुपर्नेमा सरोकार वाला निकायले ध्यान दिनु जरुरी रहेको उनको माग छ। यो समाचार हेटौँडा सन्देश दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*