पत्रकार महासंघ मकवानपुरद्वारा प्रजिअमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र

तु खबर संवाददाता
२०७८ असार ६, आईतवार १७:४५

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरले प्रमुख जिल्ला अधिकारीमार्फत बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाएको छ ।

बागमती प्रदेश सरकारले आफै आम संचारगृह संचालन गर्न आवको लागि बजेट विनियोजन गरेप्रति विरोध जनाउँदै महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमले आईतबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत मुख्यमन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् ।

उक्त ज्ञापन पत्रमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा प्रदेशमा आफ्नै संचार गृह संचालन गर्न बजेट विनियोजन गरेको फिर्ता लिनुपनेमा जोर्ड दिएको छ ।

ज्ञापन पत्रमा भनिएको छ, ‘देशभर दर्ता भएका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाईन सञ्चारमाध्यममध्ये ६६ प्रतिशत बागमती प्रदेशभित्र रहेको छ । नेपाल पत्रकार महासंघको कुल सदस्य संख्याको ४८ प्रतिशत बागमती प्रदेशभित्र छन् । अन्य प्रदेश सरकारले आमसञ्चार जगतको संरक्षण, प्रवर्धन तथा क्षमता अभिवृद्धिका लागि पुँजीगत अनुदानदेखि लोककल्याणकारी विज्ञापनका लागि समेत बजेट विनियोजन गरेको छ । तर ठिक त्यसको बिपरित बागमती प्रदेश सरकारले प्रदेश सरकारको नियन्त्रणमा रहने गरी आम सञ्चारमाध्यम स्थापना र सञ्चालन गर्न दश करोड विनियोजन गरेको छ । एकातर्फ जनताको सेवामा समर्पित हुनुपर्नेमा आफैं सञ्चार गृह खोल्नेतिर लाग्नुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने दिशामा प्रदेश सरकार अघि बढेको देखिन्छ ।’

‘प्रदेशभित्रको सञ्चारमाध्यमको प्रवर्धन र सञ्चारकर्मीहरुको पेशागत सुरक्षा, क्षमता विकासको लागि प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा सम्बोधन गराउन पटक पटक प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका थियौं । तर महासंघसँगै सिङ्गो सञ्चार क्षेत्रले उठाएका विषयहरु सम्बोधन नगरी स्वतन्त्र प्रेस, लोकतन्त्रको मुल्य मान्यता बिपरित प्रदेश सरकार आफैले आम सञ्चारगृह स्थापना गर्ने गरी बजेट ल्याएकोप्रति हामी कडा शब्दमा बिरोध गर्दछौं ’ ज्ञापन पत्रमा उल्लेख छ ।

पत्ररमा संघीय सरकार मातहत रहेका सञ्चारमाध्यम समेत स्वायत्त र स्वतन्त्र बनाउन गृहकार्य भइरहेको सन्दर्भमा बागमती प्रदेश सरकार आफैले आम सञ्चारगृह सञ्चालन गर्न खोज्नुले स्वतन्त्रलाई निरंकुशताको कडी लगाउन खोजको प्रष्ट भएको र प्रदेश सरकारले आफैले संचारगृह संचालन गर्ने निर्णय फिर्ता नलिए महासंघ आन्दोलनमा उत्रने जनाएको छ ।

कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, केन्द्रीय सदस्य सुनिल खड्का, प्रदेश उपाध्यक्ष रूपेश दुलाल, महासचिव कृष्ण सारू मगर, मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाईलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*