बागमती प्रदेशले ६ अस्पताललाई साढे २ करोड उपलब्ध गराउने
मकवानपुर । बागमती प्रदेश सरकारले मातहतका ६ वटा अस्पताललाई कोरोना नियन्त्रण र उपचारका लागि २ करोड ५५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको बिहीबारको बैठकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट सामाजिक विकास मन्त्रालयमार्फत ६ जिल्ला अस्पताललाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले दोलखाको सिंगटी अस्पताललाई २० लाख, धुलिखेल अस्पताल मातहत नुवाकोटको लिखु गाउँपालिकामा सञ्चालित कोभिड अस्पताललाई २० लाख, नुवाकोटको सिटी कम्युनिटी अस्पताललाई ३० लाख, भक्तपुरको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताललाई ३५ लाख, काठमाडौंको मनमोहन मेमोरियल सामुदायिक अस्पताललाई ५० लाख र भक्तपुरकै ख्वपः अस्पताललाई १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
यसैगरी, बैठकले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढीपीडितहरूका लागि तत्काल आवश्यक खाद्यान्न सामग्री जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोक पठाउने निर्णय पनि गरेको छ ।
मनसुनबाट हुने क्षति रोकथाम एवम् उद्धारका लागि प्रदेश आपत्कालीन केन्द्रअन्तर्गत गोदामघरमा भएको उद्धार सामग्री प्रदेश प्रहरीको समन्वयमा धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे र दोलखाका जिल्ला प्रहरी कार्यालयमा तत्काल पठाइने भएको छ ।
