युनियन लाइफ र सानिमा लाइफ इन्स्योरेन्सको आईपिओ निष्काशन गर्न आवेदन
काठमाडौं । सानिमा लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनी नेपाल धितोपत्र बोर्डमा आईपिओ निष्काशनका लागि आवेदन दिन पुगेका छन् ।
२०७४ सालदेखि बीमा सेवा सुरु गरेका यी दुई जीवन बीमा कम्पनी नेपाल धितोपत्र बोर्डमा आईपिओ निष्काशनका लागि आवेदन दिन पुगेको हो ।
दुवै कम्पनीले एकै दिन नेपाल धितोपत्र बोर्डमा आईपिओ निष्काशनका लागि निवेदन दिएका हुन् ।
दुई कम्पनीले कूल एक अर्ब २४ करोड ५० लाख रुपैयाँ बराबरको एक करोड २४ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न आवेदन दिएको हो ।
युनियन लाइफ इन्स्योरेन्स कम्पनीले ६४ करोड ५० लाख रुपैंया बराबरको ६४ लाख ५० हजार कित्ता निष्काशनका लागि बोर्डसँग अनुमति माग गर्दै यही जेठ ९ गते बोर्डमा आवेदन दिएको हो ।
यस्तै, युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपिओले इक्रा आईआर एनपी बीबीबी रेटिङ पाएको छ । ट्रिपल बी रेटिङ औषत भन्दा राम्रो मानिने भएकोले युनियन लाइफको आईपिओमा लगानी गर्नु सुरक्षित रहेको देखिन्छ ।
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले कूल चुक्ता पुँजिको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशनका लागि बोर्डमा यही जेठ ९ गते नेपाल धितोपत्र बोर्डमा दिएको छ ।
सानिमा लाइफको आईपिओले बीबीबी माइनस रेटिङ पाएको छ । ट्रिपल बी माइनस रेटिङको अर्थ औषतभन्दा राम्रो हो । यद्यपि युनियन लाइफ भन्दा सानिमा लाइफ केही तल देखिएको छ ।
दुवै कम्पनीको निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापीटल लिमिटेड रहेको छ । प्रभु क्यापिटलले दुवै कम्पनीको एकै दिन प्रक्रिया अघि बढाएको हो ।



