गाँजा खेतीलाई सरकारले नीति तथा कार्यक्रममा समावेश गर्नुपर्छः सांसद् स्थापित
मकवानपुर । सत्तारढ दल नेकपा एमाले तथा बागमती प्रदेशसभा सदस्य केशव स्थापितले बागमती प्रदेश सरकारले प्रदेशमा गाँजा खेतीलाई अनुमती प्रदान गर्नुपर्ने बताएका छन् ।
बागमती प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि भएको छलफलमा सहभागी हुँदै सांसद् स्थापितले प्रदेश सरकारले संसदमा दर्ता भएको गाँजा खेती सम्बन्धी विधेयकमा आवश्यक छलफल गरी नियमनका नीति निर्धारण गरी अनुमती प्रदान गरी सरकारको नीति तथा कार्यक्रममा समेट्न सके प्रदेशवासीको आर्थिक अवस्थामा सुधार गर्न सकिने बताएका हुन् ।
गाँजाको बजार औषधीजन्य पदार्थमा प्रयोग हुने र बाहिरी मूलुकहरुमा यसको माग बढ्दो छ, त्यसैले बागमती प्रदेश सरकारले गाँजा खेतीलाई अनुमती प्रदान गरी प्रदेशका जनतालाई आर्थिक उपार्जनमा जोड्न उनले माग गरे ।
सरकारको नीति तथा कार्यक्रमले जनताप्रति केही सहानुभूति दिएको भएतापनि नागरिकहरुको जिवनस्तर सुधार्न र आर्थिक रुपले सक्षम बनाउन गाँजालाई कानूनी मान्यता प्रदान गर्नुपर्ने उनको धारणा छ ।
राजस्व संकलन गरी सरकार आर्थिक रुपमा सक्षम हुने र देश विकासमा फड्को मार्नको लागि गाँजा खेतीलाई कानूनी मान्यता प्रदान गर्नुपर्नेमा उनले जोड दिए ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले गाँजा विधेयकलाई छलफलमा नीति तथा कार्यक्रममा समावेश गरी प्रदेशको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।
