गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले लिए सपथ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ लिएका छन् ।
बुधबार प्रदेश प्रमुख सीता पौडेलले १६८ (३) अनुसार ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङलाई सपथ ग्रहण गराएकी हुन् ।
प्रदेश प्रमुख पौडेलले दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार गठनका लागि आह्वान गरेकी थिइन् । तर, तोकिएको समयभित्र चार दलले हस्ताक्षर बुझाएको भएपनि आवश्यक बहुमत पुर्याउन नसकेका कारण प्रदेशका मुख्यमन्त्रीमा पुनः गुरुङलाई नियुक्त गरेकी हुन् ।
जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र अर्का सांसद खिम विक्रम शाहीले साथ नदिएपछि नयाँ गठबन्धनले ३१ जना सांसदको हस्ताक्षर पुर्याउन नसकेको हो ।
मुख्यमन्त्रीमा नियुक्त गुरुङले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्छ ।
