कोभिड–१९ बाट मृत्यु हुने चिकित्सक, स्वास्थ्यकर्मीको परिवारलाई प्रदेश सरकारले २५ लाख दिने

तु खबर संवाददाता
२०७८ बैशाख २२, बुधबार १८:२९
file-photo

विराटनगर । प्रदेश १ सरकारले कोभिड–१९ बाट मृत्यु हुने कर्मचारीका परिवारलाई क्षतिपूर्ति स्वरूप पच्चीस लाख रूपैयाँ दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

बैठकले कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको संक्रमणको कारणबाट मृत्यु भएमा निजको परिवारलाई एकमुष्ट २५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

यस्तै, मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारद्वारा खटाई कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मी तथा कर्मचारीहरू कोभिड–१९ बाट संक्रमित भइ बिरामी भएमा प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

साथै बैठकले कोभिड वार्डमा प्रत्यक्ष रूपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई सुरुको तलब स्केलको पचास प्रतिशत जोखिम भत्ता प्रदान गर्ने निर्णय समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*