हेटौंडाका विभिन्न वडामा माओवादीको पार्टी कार्यालय उद्घाटन
मकवानपुर । नेकपाभित्र चुलिएको विवादसँगै सर्वोच्च अदालतको निर्णयले दुई पार्टी ब्युँतिएपछि एमाले र माओवादी पार्टीको छुट्टाछुट्टै कार्यालय सञ्चालन हुने क्रम जारी छ । यसै क्रममा शनिबार नेकपा (माओवादी केन्द्र) ले हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा वडा पार्टी कार्यालय उद्घाटन गरेको छ ।
शनिबार हेटौँडा उपमहानगरपालिका–८ को पार्टी कार्यालय पार्टीका जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामीले रिवन काटेर उद्घाटन गरेका हुन् । पार्टीका वडाध्यक्ष रामबहादुर दुलालको अध्यतामा सञ्चालन भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यता रहेको थियो ।
यसैगरी वडा नम्बर–९ मा पनि नेकपा (माओवादी केन्द्र) को वडा पार्टी कार्यालय उद्घाटन गरिएको छ । माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य ललित घलानले ९ नम्बर वडा पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।
कार्यक्रममा जिल्ला सचिवालय सदस्य तथा हेटौंडा उपमहानगरपालिका पार्टी इन्चार्ज विवेक राई, सचिवालय सदस्य तथा मकवानपुर युवा इन्चार्ज सुमन पाख्रिन, बालकृष्ण चौलागाईं, जिल्ला सदस्य प्रकाश पौडेल, रामशरण घिमेरे, ज्ञानेन्द्र लामेछाने, नगर अध्यक्ष तिर्थ थापा मगर, नगर सचिवालय सदस्य धर्म पुडासैनी लगायतको उपस्थिति रहेको थियो ।
