एपीएफको पोस्टमा बागमतीको २ गोल

तु खबर संवाददाता
२०७७ चैत्र १, आईतवार १८:३७

मकवानपुर । हेटौँडामा जारी स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय गोल्डकपमा आज भएको खेलमा विभागीय क्लब सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई पाखा लगाउँदै सर्लाहीको बागमती युवा क्लब विजयी भएको छ ।

विदेशी खेलाडीसहित मैदानमा उत्रिएको बागमतीले एपीएफलाई २–१ को गोल अन्तरले पराजित गरेको हो ।

खेल सुरु भएदेखि नै एपीएफलाई दबाबमा राखेको बागमतीले खेलको पहिलो हाफमा पहिलो गोल गर्दै खेलमा अग्रता लिएको थियो ।

बागमतीको १६ नम्वर जर्सीका विक्रम धिमालले खेलमा पहिलो गोल गरेका थिए ।

पहिलो गोल खाएसँगै झनै दबाबमा आएको एपीएफले खेलको पहिलो हाफमा कुनै पनि गोल फर्काउन सकेन । १ गोलको अग्रता लिएको बागमतीले खेलको दोस्रो हाफमा पुनः १ गोल गर्दै २–० को अग्रता कायम गर्न सफल भयो ।

खेलको अन्त्यतिर बागमतीका खेलाडीले एपीएफको खेलाडीलाई डि–बक्स एरियामा लगाएपछि एपीएफले पेनाल्टी पाएको थियो ।

घरेलु मैदानको सदुपयोग गर्दै उक्त पेनाल्टीलाई एपीएफका जर्सी नम्वर १८ का रविन थिङले गोलमा परिणत गरेपछि खेलमा फर्कन थोरै हौसला मिलेको थियो । त्यसपछि एपीएफको तर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेलको नतिजा बागमतीको पक्षमा गएको थियो ।

यो जितसँगै बागमतीले क्वाटरफाइनल यात्रा पक्का गरेको छ । खेलको म्यान अफ द म्याच बागमतीका विक्रम धिमाल घोषत भए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*