पशुपतिमा जलहरी राखेकै दिन सर्वोच्च अदालतले दियो नराख्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।
प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता नितीका ढुंगानाले दायर गरेको छुट्टाछुट्टै रिटमाथि बुधबार सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले तत्काल पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।
यस विषयमा अन्तरिम आदेश दिने या नदिने विषयमा छलफल गर्न दुवै रिट निवेदक र सरकार दुबै पक्षलाई फागुन १७ गते छलफलमा बोलाएको छ ।
सर्वोच्चले सरकारसँग जलहरी राख्नुको लिखित कारण पनि माग गरेको छ ।
सर्वोच्चले जलहरी नराख्न अन्तरकालीन आदेश जारी गरेकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट पशुपतिनाथ मन्दिरमा जलहरी राखिसकिएको छ ।
राष्ट्रपति भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको हो ।
राष्ट्रपतिले पूजा आरधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले बताए ।
उनका अनुसार, पशुपतिनाथको मूल शिवलिंगमा १०८ किलोको सुनको जलहरी अर्पण गरिएको ढकालले बताए । यो कामका लागि ८० करोड रुपैँया खर्च भएको छ ।
