स्वास्थ्यचौकी भवन निर्माणको लागि ८ कठ्ठा जग्गादान
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा नयाँ स्वास्थ्य चौकी भवन निर्माणको लागि राइगाउँ निवासी धनबहादुर विक, हस्तबहादुर विक र रत्नबहादुर विकले ८ कठ्ठा जग्गादान गरेका छन् ।
गाउँपालिकाले स्वास्थ्यचौकी उत्तरोन्नती गरी सुविधासम्पन्न स्वास्थ्य चौकी बनाउने लक्ष्य अनुरुप नयाँ बन्ने भवनको लागि तीन जनाले जग्गा निःशुल्क दान गरेका हुन् ।
राईगाउँ स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माण गर्न शिलान्यास भएको छ । वडाध्यक्ष जगतबहादुर भोलन र जग्गादाता धनबहादुर विकले संयुक्त रुपमा भवन शिलान्यास गरेका छन् ।
शिलान्यास गर्दै जग्गादाता विकले स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा आम नागरिकको सहज पहुँचका लागि आफुले स्वास्थ्यचौकीलाई निःशुल्क जग्गा प्रदान गरेको बताए । ५ कोठे स्वास्थ्यचौकी भवन भुकम्पप्रतिरोधी, जेष्ठ नागरक र अपांगतामैत्री बन्ने वडाध्यक्ष भोलनले जानकारी दिए ।
गाउँमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन बन्ने भएपछि तीन जनाले २०७० सालमै सामूहिक रुपमा जग्गा पास गरेर दिएका थिए । जग्गादाता हस्तबहादुर र रत्नबहादुरको भने मृत्यु भइसकेको छ ।
बागमती गाउँपालिका वडा नम्बर २ मा नयाँ स्वास्थ्य चौकी भवन शिलान्यास भएको छ । पालिकाको १६ लाख र जिल्ला समन्वय समितिले मकवानपुरको ३१ लाख गरी ४७ लाखमा भवन निर्माण हुन लागेको उपभोक्ता समिति अध्यक्ष राजकुमार सेञ्चुरीले जानकारी दिए ।
बैशाख ३० गतेबाट निर्माण गरिसक्नुपर्ने भवन ५ कोठे बल्नेछ । कार्यक्रममा नेकपा वडाध्यक्ष सुदर्शन घिमिरे, नेपाली काँग्रेस वडा सभापति सुकराम राई, राप्रपा वडा कमिटी अध्यक्ष शरणकाजी श्रेष्ठ, राईगाउँ स्वास्थ्यचौकी इञ्चार्ज कुलेश्वर पोण्डे, प्रविधिक राजेश यादबलगायतको आथ्यिता रहेको थियो ।
