कांग्रेस मकवानपुरले संसद् विघटनविरुद्ध १३ गते प्रदर्शन गर्ने
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले केन्द्रीय निर्देशन अनुसार पुस १३ गते गर्ने संसद् विघटनविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटन, असंबैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कांग्रेसले पुस १३ गते प्रदर्शन गर्ने भएको हो ।
शुक्रबार नेपाली कांग्रेस मकवानपुरका कार्यवाहाक सभापति विष्णुप्रसाद लामिछानेको अध्यक्षतामा बसेको बैठकले मकवानपुरको दुई वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
बैठकले मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ चिसापानीमा र क्षेत्र नम्बर २ को थाहा नगरपालिकाको थाना बजारमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
दुबै स्थानमा दिनको १२ बजे विरोध प्रदर्शनको कार्यक्रम निर्धारण गरिएको प्रतिनिध सभाका क्षेत्रिय सभापति द्वय दामोदर खनाल र यतिराज सापकोटाले जानकारी दिए ।
बैठकमा नेपाली कांग्रेस मकवानपुरका कार्यवाहाक सभापति लामिछानेसहित पार्टी सचिवद्वय बुद्ध लामा र आनन्दराज कठायत, कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, प्रमुख सल्लाहाकार रामचन्द्र अर्याल माइकल, सहसचिव रामबाबु बानियाँ, पार्टी प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्य राजिव सुवेदी, क्षेत्रीय सभापतिहरू ताराप्रसाद चौलागाईं, लोक मोक्तान, हेटौंडा नगर सभापति आनन्दरामा पराजुली, नेपाली काङ्ग्रेस महिला बिभागकी केन्द्रीय सदस्य शर्मिला श्रेष्ठलगायतको सहभागीता रहेको थियो ।
