हेटौंडाको पूूर्वी क्षेत्रका युवालाई खेल्न फुटसल निर्माण गरिने
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडाको पुर्वी क्षेत्रका युवाहरुलाई खेल्न सहज हुनेगरी फुटसल निर्माण गरिदिने बताएका छन् ।
मेयर महतले बुद्धयुवा क्लब हेटौंडा–१७ हटियाका युवाहरुलाई खेलकुद सामाग्री वितरण गर्दै हेटौंडा–१५, १६, १७ र १८ नम्बरका युवाहरुलाई खेल्नका लागि सहज हुनेगरी फुटसल निर्माण गर्न लागिएको बताएका हुन् ।
फुटसल निर्माण गर्नका लागि तत्काल प्रकृया सुरु गर्ने मेयर महतको भनाई छ । उनले यस क्षेत्रका युवाहरुलाई तत्काल खेल सुरु गर्नका लागि फुटबल, भलिबल, नेटलगायतका सामाग्री हस्तान्तरण गरेका हुन् ।
बुद्धयुवा क्लबका अध्यक्ष महेश लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा यस क्षेत्रका समाजसेवी कमल विष्ट, मेयरका राजनीतिक सल्लाहकार नरहरी महत, कानूनी सल्लाहकार मुकुन्द अधिकारी, विक्रम विष्ट लगायतकाको आतिथ्यता रहेको थियो ।
