हेटौंडामा सरकारविरुद्ध काँग्रेसको वृहत जनप्रदर्शन

तु खबर संवाददाता
२०७७ मंसिर २९, सोमबार १६:४०

मकवानपुर । नेपाली काँग्रेस मकवानपुरको आयोजनामा आज हेटौंडामा सरकारविरुद्ध विरोध प्रदर्शन भएको छ ।
‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले देशभरका ७७ वटै जिल्लामा आज विरोध प्रदर्शनको आयोजना गरको थियो ।

नेपाली काँग्रेस मकवानपुरद्वारा आयोजित विरोध प्रदर्शन गर्ने क्रममा पूर्वतर्फ हेटौंडाको सानोपोखरा, दक्षिणतर्फ वन विज्ञान अध्ययन संस्थानको मूल ढोका, उत्तरतर्फ चौकीटोल र पश्चिमतर्फ थानाभर्याङबाट आज छुट्टाछुट्टै निस्किएको विरोध प्रदर्शन स्थानीय बुद्धचोकमा पुगेर आमसभामा परिणत भएको थियो।

उक्त आमसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भटराईको कार्यकालमा आफुले माओवादी केन्द्रका नेताहरुलाई वार्ताको लागि जंगलबाट ल्याइएको र पछि शान्ति वार्तामा रुपान्तर गरिएको बताएका छन् । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका उनले जनतालाई शान्तिसुरक्षा प्रदान गर्न नेपाली काँग्रेस जनताको बिचमा नै रहेको स्पष्ट पारे ।

उनले वि.सं. २०६२/०६३ सालमा नेपाली काँग्रेसको अगुवाइमा गणतन्त्र स्थापना गर्ने क्रममा सबै दलहरुलाई सहकार्य गरेर अघि बढेको स्मरण गर्दै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले देश र जनताभन्दा आफ्नो गुटको स्वार्थको लागि मात्रै हेर्ने गरेको कारणबाट अहिले गणतन्त्रमाथि नै प्रश्नचिन्ह उब्जिएको बताए ।

वर्तमान सरकारले कोभिड–१९ बाट प्रभावित भएका जनताहरुलाई उपचार गर्ने क्रममा जवाफदेही हुनुको सट्टो उल्टै आफ्नो दलगत स्वार्थको लागि भ्रष्टाचार बढाउने कार्यमा निरन्तर सहयोग पुर्याइरहने बताए । उनले भने, ‘सार्वजनिक समारोहमा भने प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भ्रष्टाचार गर्न नदिने भन्ने बाचा गर्छन् तर, व्यवहारमा सत्यता छ्रैन ।’

यसैगरी सोही समारोहलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई तिहाई बहुमतको मौजुदा सरकारले जनताप्रति जवाफदेही हुनुपर्नेमा आफ्नो दलको गुटबन्दीमा प्रोत्साहन गर्दा जनताहरुले कोभिड–१९ को उपचारको क्रममा अत्यन्तै दुःख/पीडा भोग्नु परेका कारण आफुहरु महामारीकै बीच सडकमा उत्रिनु परेको बताए ।

त्यस्तै, नेपाली काँग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय (डिना) ले वर्तमान संविधानको संरचनालाई फेरबदल गर्न नहुने उल्लेख गर्दै नेकपाको आपसी गुटको झगडाले गर्दा जनतालाई शान्त्तिसुरक्षामा असर पुगेको बताएकी छन् । साथै उनले आगामी निर्वाचनमा जनताहरुले नेपाली काँग्रेसलाई अत्याधिक बहुमत दिन आग्रह गरिन् ।

त्यस्तै, बागमती प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले नेकपा सरकारले आफ्नो कुटनौतिक क्षमता प्रदर्शन गर्न नसक्दा छिमेकी देशहरुसँगको सम्बन्धमा प्रगाढ हुन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले सरकारले जनताप्रति नै जिम्मेवार हुने सोच र चिन्तनप्रति व्यवहारमा उत्रिन नसक्दा जनता अहिले दलका नेता र सरकारप्रति वितृस्णा उत्पन्न भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*