सभापति देउवा मंसिर २९ गते हेटौंडा आउने

तु खबर संवाददाता
२०७७ मंसिर २६, शुक्रबार १६:५९
file-photo

मकवानपुर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हेटौंडा आउने भएका छन् । सभापति देउवा यही मंसिर २९ गते हेटौंडामा आउने भएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका उनी कांग्रेस मकवानपुरको आयोजनामा मंसिर २९ गते हेटौंडामा सरकारविरुद्ध हुने विरोध प्रदर्शनलाई सम्बोधन गर्न आउने भएका हुन् ।

तनहुँको व्यास नगरपालिकामा मंसिर १७ गते पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न प्रशासन र नेकपाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई अवरोध गरेपछि कांग्रेसले सरकारका प्रवृत्तिविरूद्ध आन्दोलन गर्ने बताएको थियो। सोही अनुसार नेपाली कांग्रेसले मंसिर २९ गते देशभर प्रर्दशन गर्न लागेको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।

यस्तै सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको कार्यक्रममा सहभागी हुनेछन्।

मुख्यसचिव पौडेलले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, नेताहरू चित्रलेखा यादव सप्तरी, रामशरण महत चितवन र अर्जुननरसिंह केसी पोखरामा हुने कार्यक्रममा सहभागी हुने जानकारी दिए।

केन्द्रीय सदस्यहरू गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर, एनपी साउद अछाम जाने कार्यक्रम रहेको छ।

हेटौंडामा सरकारविरुद्ध हुने प्रदर्शनमा १० हजार मान्छे प्रर्दशनमा उतार्ने भएको छ । कांग्रेस हेटौंडा उपमहानगरपालिका, तरुण विभाग, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको बुधबार बसेको छुट्टाछुट्टै बैठकले हेटौंडा उपमहानगरको विभिन्न १९ वडा, थाहानगर र ८ गाउँपालिकाबाट १० हजार मान्छे हेटौंडामा उतारेर कम्युनिष्ट सरकारको तानाशाही, ज्यादती र भ्रष्टाचारको विरुद्धमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*