सन् १९९९ मा एक दम्पत्तीको हत्या गर्ने अमेरिकी पुरूषलाई दिइयो मृत्युदण्ड

तु खबर संवाददाता
२०७७ मंसिर २६, शुक्रबार १६:४५
file photo

संयुक्त राज्य अमेरिकामा संघीय कानुन बमोजिम एक व्यक्तिलाई बिहीबार मृत्युदण्ड दिइएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो कार्यकाल सकिनै लाग्दा संघीय कानुन बमोजिम मृत्युदण्ड दिएको भन्दै चौतर्फी विरोध पनि भएको छ।

इन्डियाना राज्यको टेरी हट कारागारमा ४० वर्षीय अफ्रिकी–अमेरिकी ब्रान्डोन बर्नार्डलाई सुईबाट घातक विषाक्त दिएर मृत्युदण्ड दिइएको हो।

सन् १९९९ मा टेक्सासमा भएको एक हत्याकाण्डमा बर्नार्डको संलग्नता पुष्टी भएको थियो। त्यत्तिबेला उनी १८ वर्षका थिए।

कारागारमा बर्नार्डले राम्रो व्यवहार गरेको र उनीमा धेरै सुधार आएको भन्दै उक्त मृत्युदण्डलाई आजीवन काराबासमा परिणत गर्न झण्डै पाँच लाख व्यक्तिले लिखित अनुरोध गरेपनि संघीय अधिकारीहरुले त्यसलाई सुनुवाई गरेका थिएनन्।

सन् १९९९ मा टेक्सासमा एक दम्पतीलाई लुटपाट गर्नेक्रममा बर्नार्ड सहित अरु चार किशोरहरुले ती दम्पतीलाई हत्या गरी उनीहरु चढेको कारमा राखेर आगो लगाइदिएका थिए।

बर्नार्डले गोली नचलाए पनि आगो लगाउन मद्दत गरेका थिए ।

गोली चलाउने बर्नार्डका अर्का साथी क्रिस्टोफर भियाल्भालाई गत सेप्टेम्बरमा मृत्युदण्ड दिइएको थियो। उनी पनि घटना हुँदाका दिन १९ वर्षका मात्र थिए।

समूहका अरु सदस्यहरु भने घटना हुँदाका दिन १८ वर्ष नपुगेको भन्दै अदालतले सुधार गृहमा पठाएको थियो। (रासस/एएफपी)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*