हेटौंडाको स्मारकमा आदिवासी जनजाति संग्रहालय स्थापनाको तयारी
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११, नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ ।
मकवानपुर जिल्लामा रहेका जनजातिको सँस्कृति जोगाउने मुख्य उद्देश्यले संग्रहालय स्थापना गरिने भएको शहीद स्मारक व्यवस्थापन विकास समिति कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले जानकारी दिए ।
उनका अनुसार, हाल संग्रहालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । मकवानपुरका ८ गाउँपालिका, १ नगरपालिका र १ उपमहानगरपालिका क्षेत्रमा बसोबास गरेका आदिवासी जनजातिको भेषभुषा, रितिरिवाज, धर्मसँस्कृतिका झलक तथा उनीहरुले प्रयोगमा ल्याएका भाँडावर्तन र औजारहरु संग्रहालयमा राखिने कार्यालय प्रमुख न्यौपानेले बताए ।
साथै स्मारक परिसरमा शहीद अध्ययन अनुसन्धान केन्द्र स्थापना गरी शहीदको जीवनी र तिनले प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको योगदानबारे सामग्री पनि राखिने भएको छ ।
शहीद स्मारकमा एउटै ठूलो ढुंगामा कुदिएको १२ शहिदको आकृति र छुट्टै चिडिया घर स्थापना गरिएको छ ।
स्मारकको उत्तरतिर प्रजातान्त्रिक तथा वामपन्थी आन्दोलनका नेता बीपी कोइराला, गणेशमान सिंह, पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको शालिक स्थापना गरिएको छ ।
