कोरियामा दुर्घटनामा परी एक जना नेपालीको मृत्यु
सउल । कोरियामा दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरका ज्ञानेन्द्र राई रहेका छन् ।
उनी इपिएस प्रक्रियामार्फत कोरिया आई करिब साढे तीन वर्षदेखि एक कटिङ कम्पनीमा कार्यरत थिए । उनको टीकाकै दिन कम्पनीमा काम गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको हो।
उनका सहकर्मी तिलक पुनका अनुसार सोमबार बिहान १० बजेतिर कम्पनीमा काम गर्ने क्रममा कोरियाली कामदारले चलाएको छिगेछा (सामान बोक्ने गाडी) ले च्यापेर उनको मृत्यु भएको हो।
दुर्घटनापछि उनलाई उपचारका लागि नजिकैको अस्पताल पुर्याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको थियो।
उनको शवलाई हाल अस्पतालमा राखिएको छ। घटनाबारे सउलस्थित नेपाली दूतावासले अनौपचारिक जानकारी मात्र प्राप्त भएको र आवश्यक प्रक्रिया पूरा गर्ने जानकारी दिएको छ।
