विकेशलाल श्रेष्ठको अनुभव : चाहिएको बेला बिरामी बोक्न राजधानीमै एम्बुलेन्स पाइएन

तु खबर संवाददाता
२०७७ कार्तिक १२, बुधबार ०९:१४

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा विरामीलाई अस्पतालसम्म लैजानको लागि एम्बुलेन्स पाइँदैन । आपत परेर एम्बुलेन्सका चालकलाई फोन गर्दा चालकले विभिन्न बहाना बनाएर पन्छिने गरेका छन् ।

हेटौँडा, बागमती प्रदेशको राजधानी भएपछि यहाँको भौतिक पूर्वाधारसहित विभिन्न क्षेत्रको विकास हुने अपेक्षा गरिएको थियो । सेवा सुविधाको विस्तार र जनजीवन सहजहुने अपेक्षा नागरिकहरुले गरेका थिए । तर सामान्य विरामीलाई उपचारको लागि चितवनको भरतपुर लैजानुपर्ने अवस्था छ । रिफर गरिएको विरामीलाई चितवनसम्म लैजान भनेको समयमा एम्बुलेन्स भने पाइँदैन ।

मंगलवार बेलुका हेटौँडाका १९ बर्षका एक युवकले बिष सेवन गरेका कारण उनलाई हेटौँडा अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि विरामीलाई भेन्टिलेटरसहित आइसियुमा राख्नुपर्ने भएपछि चितवनको भरतपुर लैजान रिफर गरियो ।

तर विरामीका परिवारले एम्बुलेन्स पाएनन् । त्यसपछि परिवारका सदस्यले लायन्स क्लब अफ हेटौँडा मुक्तिनाथका विकेशलाल श्रेष्ठसंग एम्बुलेन्स खोजिदिन आग्रह गरे ।
श्रेष्ठले एम्बुलेन्सका चालकलाई फोन सम्पर्क गर्न थाले, तर आधा दर्जनभन्दा बढी नम्वरमा फोन गर्दा चालकहरुले विभिन्न बहाना बनाएर पन्छिएको उनले सुनाए ।
एम्बुलेन्स चालकहरुले ‘कोभिडको मात्रै विरामी बोकेकोले आउन मिल्दैन’, ‘म टाडा छु आउँद भ्याउँदिन’,‘म गाउँमा आफ्नै घरमा आएको छु बजारमा भएकालाई भन्नुस्’,‘ मेरो गाडिको टायर फुस्केको छ आउँदिन’ जस्ता जवाफ दिए – उनले अनुभव सुनाए ।

विरामीलाई भरतपुर लैजान सक्ने अवस्था नभएपछि रिक्स मोलेरै थप उपचारको लागि हेटौँडाको सञ्चो हस्पिटलमा लगियो, अहिले विरामीको अवस्थामा सुधार भएको छ – उनले भने ।

एम्बुलेन्स चालकको लापरबाही र नियमनकारी निकायको वेवास्थाले हेटौँडामा एम्बुलेन्सको अभाव देखिन्छ । अझ एम्बुलेन्सका चालकहरु विरामी भन्दा बढी यात्रु बोकेर हेटौँडाबाट विभिन्न शहरमा जाने गरेका छन् ।

बिरामी भरतपुर पठाउन एम्बुलेन्सको खोजीमा रहेको युवा समाजसेवी विकेशलाल श्रेष्ठले समाजिक सञ्जाल फेसबुकमा व्यक्त गरेको अनुभव यस्तो छ –

यस्तो पीडा हामीले कहिलेसम्म भोग्नुपर्ने हो ?

हेटौडा उपमहनगरपालिका अझ भनौ बाग्मती प्रदेशको राजधानी। सुन्दा र भन्दा सार्है गौरवान्वित महसुस हुने गर्दछ तर सेवा सुविधाको कुरा गर्नुपर्दा कुनै एउटा विकट ठाउ भन्दा कम छैन जस्तो महसुस हुने गर्दछ। लामो समय देखि हामीले भोग्दै आउनुपरेको ठुलो समस्या भनेको आवश्यकता परेको समयमा तत्काल एम्बुलेन्स सेवा उपलब्ध हुदैन। यो समस्या एम्बुलेन्स चाकलको लापरवाहीले गर्दा हो या सम्बन्धित एम्बुलेन्स व्यवस्थापन संस्थाको कमिकमजोरीले त्यो यकिन हुन सकेको पाईदैन तर यो लापरवाहीको कारण धेरै जसो विरामीहरुले ज्यान गुमाउनु परेको तितो यथार्थ छ भने विरामीहरुले विभिन्न बहानामा पिडा भोग्नुपरेको छ।


आज पनि एउटा घटना त्यस्तै हुन पुग्यो हेटौडा स्थित एक १९ वर्षको भाईले विष सेवन गरेको कारण उसलाई साथीभाईको सहयोगमा उपचारको निमित्त हेटौडा अस्पताल पुर्याईयो त्यहा सामन्य प्राथमिक उपचार पश्चात उसलाई थप उपचारको क्रममा भेन्टिलेटर सहितको आईसियु आवश्यक पर्न सक्ने जानकारी दिदै भरतपुर लग्न सल्लाह दिदै डाक्टर साहेबले भरतपुर रिफर गरिदिनुभयो तर विडम्बना उहि पुरानो समस्या भरतपुर लग्नको लागि एम्बुलेन्स चालकहरुलाई फोन सम्पर्क गर्दा सबैले आआफ्नो समस्या सुनाउदै उपस्थित हुन नसक्ने बताए र लगभग आधा घण्टा पश्चात कुनै पनि एम्बुलेन्स उपलब्ध नहुने भएपछि बाध्य भएर एउटा चिनेको सुमो बोलाएर उक्त बिरामी भाईलाई हेटौडा स्थित सन्चो अस्पताल पुर्याईयो र हाल बिरामीको स्वास्थ अवस्था ठिकै रहेको जानकारी प्राप्त भएको छ। सायद भाग्यले भनौ आज समयमा एम्बुलेन्स उपलब्ध नभएको कारण बिरामीले ज्यान गुमाउनु परेन तर अन्य समयमा एम्बुलेन्सको कारण धेरै विरामीहरुले समयमा उपचार नपाएर ज्यान गुमाउन बाध्य भएका छन्। एम्बुलेन्स चालकले आफ्नो जिम्मेवारी र कर्तव्य राम्रो संग बुझ्न नसकेको कारण यस्तो समस्याहरु बिरामीले भोग्नुपरेको छ। त्यसै गरी एम्बुलेन्स सेवा सन्चालनमा ल्याउने विभिन्न क्लब, संघ, संस्थानहरुले पनि यस्तो कुराहरुमा चासो नदिईएको पाईएको छ।


समयमा उपचारको निमित्त एम्बुलेन्स नपाएर ज्यान गुमाउनुपर्यो भने जवाफदेहि को होला? पटक पटक यो विषयमा स्थानिय, पत्रकार लगायत सबैले आवाज उठाए पनि सम्बन्धित निकायहरु किन मौन छन् ?

 

सम्पर्कमा आएका एम्बुलेन्स चालक र उनीहरुको भनाई :

९८४५६१९१९४- म विरंगजबाट विरामी लिएर आउदै छु आउन ढिलो हुन्छ भन्दै अन्य दुई नम्बर उपलब्ध गराउदै कुरा गर्न अनुरोध गर्नु भयो।

९८४५१८६२३१- म आफ्नो घर पदमपोखरी जादै छु। बजारमा हुनेहरुलाई सम्पर्क गर्नुहोस्।

९८४५१४८५११- आज मैले धेरै भन्दा धेरै विरामी कोभिडको मात्र बोकेको कारण म आउन मिल्दैन अन्य एम्बुलेन्सलाई सम्पर्क गर्नुहोला।

९८५५०८८३४५- म हर्नामाडी आफ्नो घरमा छु आउदा ढिलो हुन्छ त्यहि हेटौडा अस्पतालकै एम्बुलेन्सलाई सम्पर्क गर्नुन।

९८४५७०४२५२- म भिमफेदिमा आफ्नो घरमा छु आउन समय लाग्छ के गर्ने होला? बजारमा भएकोहरुसंग सम्पर्क गर्नुन।

९८४५०१८५१५- म त नामटार आफ्नो घरमा आएको छु हजुरले बजारमा नै भएकोलाई सम्पर्क गर्नुस न भन्दै सम्पर्क नं उपलब्ध गराउनु भो।

९८४५६७०३१०- मेरो गाडीको एउटा टाएर नै फुस्केको छ आउन मिल्दैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*