वडा अध्यक्ष नविन सिग्देलमाथि हातपात, एक जना पक्राउ
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देलमाथि हातपात भएको छ । अध्यक्ष सिग्देलमाथि एक महिला निर्माण व्यवसायीले हातपात गरेकोमा ती महिलालाई पक्राउ गरिएको छ ।
हेटौंडा क्याम्पसदेखि हुप्रचौरतर्फ निस्कने सडक विस्तारको अनुगमनमा पुगेका वडाध्यक्ष सिग्देललाई निर्माण व्यवसायी काभ्रेको रोशी गाउँपालिका–११ घर भएकी मञ्जु लामाले हातपात गरेको प्रहरीले जानकारी दिएको छ ।
केही दिन अघि हेटौंडा १ का अध्यक्ष सविन न्यौपानेमाथि दुव्र्यवहार भएको थियो । चार जनाको समूहमा आएका व्यक्तिहरुले अध्यक्ष न्यौपानेमाथि मोसो छ्यापेका थिए भने भौतिक रुपमा आक्रमण समेत गरेका थिए ।
सुरक्षा व्यवस्था निकै फितलो भएकोमा प्रशासन र प्रहरीको आलोचना भइरहेको छ । क्रमबद्ध रुपमा आक्रमणका घटना भएपछि प्रहरी र स्थानीय प्रशासनको आलोचना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले घटनाको पुष्टि गरेका छन् । हातपात तथा अभद्र व्यवहार भएकोमा पक्रउ गरिएको छ, अर्यालले भने ।
