कांग्रेस इतर समूहको राष्ट्रिय सम्मेलन आज सकिँदै

तु खबर संवाददाता
२०८३ श्रावण ३१, आईतवार ११:५१

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहद्वारा आयोजित तीनदिने राष्ट्रिय सम्मेलन आज सम्पन्न हुँदैछ। काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा जारी सम्मेलनको अन्तिम दिन विभिन्न राजनीतिक, आर्थिक–सामाजिक तथा सांगठनिक प्रस्तावमाथि छलफल गरी निष्कर्ष निकाल्ने कार्यक्रम रहेको छ।

सम्मेलनमा प्रस्तुत गरिएका प्रस्तावमाथि सहभागी प्रतिनिधिहरूले आफ्ना धारणा, टिप्पणी र सुझाव राखिरहेका छन्। कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गुरु बरालका अनुसार सहभागीबाट प्राप्त सुझावलाई समेटेर प्रस्तावहरूलाई अन्तिम रूप दिई आजै पारित गरिनेछ।

सम्मेलनको अन्तिम दिनको कार्यतालिकाबारे जानकारी दिँदै कांग्रेसकी निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले अहिले प्रस्तुत प्रतिवेदनमाथि छलफल भइरहेको बताइन्। उनका अनुसार प्रतिवेदनमाथिको छलफल सकिएपछि सातै प्रदेशका संयोजकहरूले प्रदेशगत राजनीतिक अवस्था र आगामी रणनीतिबारे धारणा राख्नेछन्।

प्रदेश संयोजकहरूको सम्बोधनपछि इतर समूहका केही शीर्ष नेताहरूले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि आज अपराह्न पत्रकार सम्मेलन आयोजना गरी सम्मेलनबाट पारित विशेष प्रस्ताव र तीनदिने राष्ट्रिय सम्मेलनका निष्कर्ष सार्वजनिक गरिने खतिवडाले जानकारी दिइन्।

सम्मेलनमा नेता विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, डा. प्रकाशशरण महतले आर्थिक–सामाजिक नीतिको कार्यदिशासम्बन्धी प्रस्ताव र एनपी साउदले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए। ती प्रस्तावमाथि प्रतिनिधिहरूले सुझावसहित धारणा राखिरहेका छन्।

करिब पाँच हजार जना सहभागी रहेको सम्मेलनको उद्घाटन निवर्तमान सभापति शेरबहादुर देउवाले गरेका थिए। शनिबारको बन्दसत्रमा सहभागी नभएका देउवा सम्मेलनको अन्तिम दिन भने बन्दसत्रमा उपस्थित भएका छन्।

प्रस्तावहरू पारित गरेपछि पत्रकार सम्मेलनमार्फत सम्मेलनका निर्णय र निष्कर्ष सार्वजनिक गर्दै आजै राष्ट्रिय सम्मेलनको औपचारिक समापन गरिनेछ।