स्रोतामाझ लोकप्रिय बन्दै अर्घाखाँचीका सागर आचार्यको तीज गीत सङ्ग्रह ‘चिटिक्कै परि’

तु खबर संवाददाता
२०८३ श्रावण ३१, आईतवार ०९:४६

काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै अर्घाखाँचीका गायक तथा सर्जक सागर आचार्यले तयार पारेको तीज गीत सङ्ग्रह चिटिक्कै परि’ स्रोतामाझ लोकप्रिय बन्दै गएको छ। तीज पर्व नजिकिँदै गर्दा सार्वजनिक भएको गीतले नेपाली सांगीतिक क्षेत्रमा चर्चा बटुल्न थालेको हो।

सागर आचार्य र लोकप्रिय गायिका शान्तिश्री परियारको स्वर रहेको ‘चिटिक्कै परि’मा आचार्यकै शब्द तथा संगीत रहेको छ। तीजको मौलिक संस्कृति, रमाइलो वातावरण, नाचगान र नेपाली समाजमा तीजको महत्वलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको गीतले श्रोता तथा दर्शकको ध्यान आकर्षित गरेको छ।

गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल तथा युट्युबमा समेत यसको चर्चा बढ्दै गएको छ। तीजका अवसरमा बज्ने र नाचगानका लागि उपयुक्त हुने खालको लय तथा प्रस्तुतिले गीतलाई थप आकर्षक बनाएको छ। विशेषगरी तीजको सांगीतिक माहोल सुरु भएसँगै ‘चिटिक्कै परि’ विभिन्न ठाउँमा सुनिन थालेको छ।

अर्घाखाँचीमा जन्मिएका सागर आचार्यले आफ्ना सिर्जनामा मौलिकता र नेपाली लोकसंस्कृतिलाई प्राथमिकता दिँदै तीजको भावनालाई केन्द्रमा राखेर गीत तयार पारेका छन्।

‘चिटिक्कै परि’ सागर आचार्यको पहिलो गीतिसङ्ग्रह हो। पहिलो सिर्जनामार्फत नै उनले नेपाली लोकसंगीत र तीजको मौलिकतालाई प्रस्तुत गर्ने प्रयास गरेका छन्। गीतिसङ्ग्रहले नेपाली मौलिक संस्कृति र परम्परालाई संगीतमार्फत श्रोता-दर्शकमाझ पुर्‍याउने उद्देश्य बोकेको छ।

गीतमा शान्तिश्री परियारको सुमधुर स्वरले पनि थप आकर्षण दिएको छ। आचार्यको सिर्जना र परियारको गायकीको संयोजनले गीतलाई श्रोता-दर्शकमाझ सहज रूपमा पुर्‍याउन मद्दत गरेको देखिन्छ। तीजको अवसरमा मनोरञ्जनसँगै नेपाली मौलिक सांस्कृतिक पक्षलाई जोड दिने प्रयास गीतमा गरिएको छ।

तीज पर्वको आगमनसँगै नयाँ-नयाँ गीत सार्वजनिक भइरहेका बेला ‘चिटिक्कै परि’ले पनि आफ्नो छुट्टै पहिचान बनाउन थालेको छ। गीतप्रति श्रोता तथा दर्शकबाट आएको प्रतिक्रियाले सागर आचार्यको सिर्जनालाई थप उत्साह मिलेको छ।

यस गीतमार्फत अर्घाखाँचीको सांगीतिक पहिचानलाई राष्ट्रियस्तरमा पुर्‍याउने प्रयाससमेत भएको छ। तीजको रमझम बढ्दै जाँदा ‘चिटिक्कै परि’ अझ धेरै श्रोता तथा दर्शकमाझ पुग्ने अपेक्षा गरिएको छ।