मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

तु खबर संवाददाता
२०८३ श्रावण ६, बुधबार १८:२५

मन्त्रिपरिषद्को बैठकले  विभिन्न विषयहरूसँग सम्बन्धित ६ वटा महत्वपूर्ण निर्णयहरू गरेको छ।

शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकका निर्णयहरूबारे जानकारी दिँदै विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्य र श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोकिएको बताउनुभयो।

साथै, गुठी संस्थानको प्रशासक पदमा शैलेन्द्र राज कुँवरलाई नियुक्त गर्ने निर्णयसमेत बैठकले गरेको छ।

हवाई क्षेत्र र पर्यटन प्रवर्द्धनका लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रोत्साहन गर्न २०८५ साल भदौ मसान्तसम्मका लागि दुवै विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिने र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत सहुलियत दिने निर्णय गरिएको छ।

यसैगरी, मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले यसअघि गरेका सम्झौताहरूलाई अनुमोदन गर्दै मिटरब्याजसँग सम्बन्धित सबै फर्जी लिखतहरू (तमसुक) अवैध घोषणा गरेको छ।

मन्त्रिपरिषद् बैठकले गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षतामा एक न्यायिक समिति गठन गरेको छ।

यसका साथै आम नागरिकलाई प्रत्यक्ष राहत पुर्‍याउने उद्देश्यका साथ शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्दै आएको समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णयसमेत सरकारले गरेको छ।